चितवनः भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएर सर्बसाधारणका लागि खुल्ला गरे संगै दुई महिनामा २३ हजार ५७४ जनाले अबलोकन गरेका छन् । असार २३ गते सर्बसाधारणका लागि खुल्ला गरिएको दियालो बंगलामा भदौ २२ गते सम्म १२७ जना बिदेशी पर्यटक सहित उनीहरुले अबलोकन गरेका हुन ।
बर्षातको समयमा सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गर्दा यहाँको दियालो बंगला हेर्न आउनेहरुको संख्या बढ्दै गएको हो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार अबलोकन गर्न आएकाहरुबाट रु २३ लाख ४४ हजार एक सय राजश्व संकलन भएको छ । सर्बसाधारण नेपालीलाई प्रबेश शुल्क रु १००, जेष्ठ नागरिक र बिद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै छिमेकी राष्ट्रहरु भारत र चीनका पर्यटकहरुका लागि रु १५०, ती वाहेकका सार्क राष्ट्रका पर्यटककका लागि रु २०० र अन्य मुलुकका पर्यटकका लागि रु ३०० तय शुल्क तय गरिएको छ । अधिकारीले दैनिक घुम्न आउनेहरुको संख्या बढ्दै गएको बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १ मा दियालो बंगला छ । नेपाल ट्रष्ट संग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो । उठेको राजश्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउने गरी व्यवस्थापन गरिएको हो । महानगर प्रमुख रेनु दाहालले दियालो बंगलाको ऐतिहाँशिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेहरुको संख्या दिनानुदिन बढ्दै गएको बताउनुभयो । यहाँ अवलोकन र अध्ययनका लागि आउने पर्यटक बढ्दै गएको उहाँको भनाई छ । बर्षातमा पानी पर्दा समेत आन्तरिक पर्यटकहरु उत्साहाजनक ढङ्गले यहाँ घुम्न आएको प्रमुख दाहाले बताउनुहुन्छ ।
जाडो महिनामा राजपरिवारले यही दरवारमा धेरै समय बिताउने गरेकाले यहाँको महत्व र यसको अवलोकन गर्न आउनेको संख्या वढेको हो । यो राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ हो । ऐतिहाँसिक महत्व बोकेको दरवारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्व राजारानी महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भ¥याङमा वि. सं. २०२६ सालमा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।
दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नंम्बर राजा र ३ नंम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन ।
प्रमुख दाहालले लामो समय देखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्र भित्र के छ भन्ने कौतुहलता मेट्दै सर्बसाधारणले अवलोकन गर्न सक्ने बातावरण मिलाईएको बताउनुभयो । बर्षात सकिए संगै यहाँ आउने पर्यटक निकै बढ्ने अनुमान गरिएको दाहालको भनाई छ । व्यवस्थित व्यवस्थापनका लागि महानगरपालिका लागि परेको उहाँले जानकारी दिनुभयो ।
चितवन घुम्न आउने पर्यटकका लागि बसाई लम्भ्याउन दियालो बंगला सहयोगी हुने देखिएको छ । भरतपुर भ्रमणबर्षको अबसरमा महानगरपालिकाले नेपाल ट्रष्ट संग आग्रह गरेर सर्बसाधारणका लागि खुल्ला गरेको हो ।