चितवन: नेपाल जेशीज क्षेत्र (ख) को सम्मेलन चितवनमा हुने भएको छ । यही असोज ४ र ५ गते भरतपुर महानगरपालिका वडा नम्बर ९ फेर सिजन पार्टी प्यालेसमा हुन लागेको हो । गितानगर जेशीजको आतिथ्यतामा सम्मेलनको आयोजना गर्न लागिएको हो ।
क्षेत्र (ख) मा पर्ने ४१ वटा जेशीजका शाखाहरु सहित देशभरका जेशीहरु सम्मेलनमा सहभागी हुने छन् । गितानगर जेशीजका अध्यक्ष युवराज अधिकारीका अनुसार देशभरबाट एक हजार बढी युवाहरु सम्मेलनमा सहभागी हुने छन् । सम्मेलनमा देशको आर्थिक बिकास सम्बन्धि गोष्ठी, भरतपुर भ्रमण वर्ष २०२४ को प्रबर्धन, जेशीज शाखाहरुको बक्तित्वकला प्रतियोगिता, शान्ति पदयात्रा लगाएतका कार्यक्रमहरु गरिने उहाँले जानकारी दिनुभयो । देशका युवा व्यवसायीहरुको सहभागीतामा हुने गोष्ठीमा आर्थिक बिकास सम्बन्धि कार्यपत्र प्रस्तुती र छलफल हुने छ ।
सम्मेलन सम्पन्न गर्नका लागि गितानगर जेशीजका पूर्ब अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन निर्देशक समिति गठन गरी तयारी तिब्र पारिएको छ । सम्मेलनका लागि बिभिन्न १६ वटा उपसमिति गठन गरी तयारी थालिएको उहाँले जानकारी दिनुभयो ।
सम्मेलनमा गितानगर जेशीजका संस्थापक एबं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई सम्मान गर्ने कार्यक्रम रहेको राष्ट्रिय जेशीजका पूर्ब अध्यक्ष दिनेश कोईरालाले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो “भरतपुर भ्रमण वर्ष २०२४ पबर्धन गर्ने कार्यक्रमहरु सम्मेलनमा गरिने छ ।” दुई दिन सम्म चल्ने सम्मेलनमा नेपालको संस्कृति संरक्षणको बिषयमा समेत छलफल हुने छ ।