चितवनः भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत बिद्युतीकरणको काम ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल बिद्युत प्राधिकरणको पोखरा–भरतपुर बितरण प्रणाली सुदृढिकरण आयोजनाले भूमिगत बिद्युतीकरणको काम गरेको हो ।

आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार दुईवटा सब स्टेशनबाट ६ वटा फिडरमार्फत भूमिगत लाईन छोड्न तयारी गरिएको छ । सब स्टेशनमा आबश्यक पर्ने प्यानल समयमा आई नसक्दा ती फिडरबाट बिद्युत छोड्न कठिन भएको उहाँले बताउनुभयो । सुवेदीले भन्नुभयो “हेटौंडा ग्रिड कार्यालयले प्यानल ल्याउदैं छ । चाँडै फिडरहरुबाट बिद्युत छोड्ने तयारीमा हामी छौ ।” ११ केभिए लाइन जडान भएका ६ वटा फिडर भूमिगत तवरबाट संञ्चालन गर्न सक्ने अबस्थामा पुगेको भए पनि अन्डरग्राउण्ड गर्नका लागि सुरुवाती पोइन्टमा प्रयोग हुने प्यानल अभावले लाईन छोड्न नसकीएको उहाँले बताउनुभयो । सुबेदीले भन्नुभयो “बसेनी सब स्टेशन र आँपटारी सब स्टेनमा प्यानल आउनासाथ काम सुरु हुन्छ ।”

पछिल्लो सम्झौता अनुसार भरतपुर महानगरपालिका भित्र चनौली लाईन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत काम गर्दै लगिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बसेनी देखि भरतपुर महानगरपालिका अगाडी सम्म, आँपटारी देखि पोखरा वसपार्क सम्मको सडक र केन्द्रिय वस ट्रमिनल देखि गोन्द्राङ् सम्मको सडक थपिएको छ ।” केन्द्रिय बस ट्रमिनल देखि गोन्द्राङ् सम्मको सडकमा पहिला ३३ केभिए लाईन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४ सय भोल्टको लाइनलाई भूमिगत गरिने उहाँले बताउनुभयो ।

भरतपुरको पुलचोक देखि गोन्द्राङ सम्मको ६ लेन सडक र बाईपास सडकमा मात्रै भूमिगत गर्न थालिएकोमा अहिले नयाँ क्षेत्र थप गरे संगै बजेट पनि थप गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगर भित्र बिद्युतीय तार भूमिगत गर्नका लागि रु १ अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु १ अर्ब ३० करोड वजेट भरतपुरलाई बिनियोजन गरिएको थियो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर बिद्युतीय तार भूमिगत गर्ने काम गरीरहेको सुवेदीले बताउनुभयो । ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिए संगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि वढाईएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिदैं लगिएको उहाँले बताउनुभयो । एशियाली बिकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस !