
चितवनः धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक अभावमा काम गर्न नसकेर बीचमै छोडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम शुरु भएको छ । भरतपुर महानगरपालिकाले बोलपत्र आव्हान गरी काम शुरु गराएको हो ।
फाउण्डेशनले लामो समयसम्म काम अगाडि बढाउन नसकेपछि महानगरपालिकाले प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर नयाँ प्रक्रियाबाट निर्माणको काम शुरु गरेको हो । महानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख ई.सन्तोष आचार्यका अनुसार ठेक्का स्वीकारेको निर्माण कम्पनी हिमालयन, कालीञ्चोक बीबीआर जेभीले निर्माणको काम शुरु गरेको छ ।
सो कम्पनीले ढुंगा, गिट्टी, बालुवा, ईट्टा जस्ता निर्माणका सामग्री रंगशाला स्थलमा झारेको छ । प्याराफिट मुनिको ढुंगाको सोलिङको काम शुरु गरेको छ । स्थानीय निर्माण सामग्री भरतपुर महानगरपालिकाको प्रयोगशालामा परीक्षण भईरहेको आचार्यले बताउनुभयो । रडको प्रयोगशाला परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पुलचोक पठाईएको छ । महाशाखा प्रमुख आचार्यका अनुसार निर्माण क्षेत्रको सरसफाईको काम सम्पन्न भएको छ । कामदार कर्मचारी बस्ने क्याम्प निर्माण गरिएको छ भने प्रयोगशाला निर्माण भईरहेको छ । उहाँले भन्नुभयो “ठेकेदार कम्पनीको प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम शुरु गरेका छन् ।”
बीबीआर निर्माण कम्पनीका प्रबन्ध निर्देशक विकास गौतमले रंगशाला निर्माणको काम शुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो “निर्माण सामग्री निर्माण स्थलमा झरेका छन् । हाम्रा प्रविधिक कर्मचारीले काम थालेका छन् ।” निर्माण स्थलको सरसफाई गरेर काम अघि बढाईएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशाला निर्माणलाई अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो “लामो समय रोकिएको रंगशाला निर्माणको काम शुरु भएको छ ।”
भरतपुर महानगरपालिका वडा नं. १५ रंगशाला बन्दैछ । प्रमुख दाहालले निर्माण कम्पनी र प्राविधिक सहित बसेर तोकिएको समयभित्र काम सम्पन्न गर्न महानगरका तर्फबाट गर्नुपर्ने सहयोगको विषयमा छलफल गरिएको जानकारी दिनुभयो । काम कुनै पनि हिसाबले नरोक्न र कुनै समस्या परेमा तत्काल समाधान खोज्ने गरी महानगरपालिकाका प्राविधिक कर्मचारीलाई निर्देशन दिईएको उहाँको भनाई छ । सहजीकरणका लागि महानगरपालिकाले निर्माण स्थलमा फिल्ड कार्यालय नै राख्ने छ ।
महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालका अनुसार थप १० हजार क्षमताको प्याराफिटसहित मैदान तयार गरिने छ । सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेशनले पाँच हजार जना अट्ने प्याराफिट तयार गरिसकेको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ । ३० महिनाभित्र सक्ने गरी निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग गत असार २३ गते सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार रंगशाला निर्माणको काम वि.सं. २०८३ पुस २२ गतेसम्म सक्नुपर्नेछ ।
रंगशाला निर्माणको लागत रु.७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रहेको अर्यालले जानकारी दिनुभयो । रंगशाला निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले रु.२५ करोड र भरतपुर महानगरपालिकाले रु.४ करोड ८० लाख बजेट विनियोजन गरेका छन् । यस्तै, बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने सहमति गरेको छ ।
धुर्मस सुन्तली फाउण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै वि.सं. २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विघा १९ कट्ठा जग्गामा रंगशालाको काम भईरहेको छ । रंगशाला निर्माण सम्पन्न भएपछि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेलहरु हुनेछन् ।