चितवन: भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ मनाईरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको संख्यामा बृद्धि भएको छ । महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचारप्रसार गरेसँगै पर्यटकको संख्यामा बृद्धि भएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा ३ लाख ६ हजार ८३७ पर्यटक निकुञ्ज प्रवेश गरेकोमा अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ७ हजार ४२५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् ।
निकुञ्ज भित्रिने पर्यटकमध्ये भरतपुर महानगर हुँदै भित्रिने संख्या २७ हजार नौ सय ५६ छ । अघिल्लो आर्थिक वर्षमा यो संख्या २३ हजार २५७ रहेको थियो । उहाँका अनुसार भरतपुरबाट मात्रै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ४ हजार ६९९ बढी पर्यटक निकुञ्ज प्रवेश गरेका छन् ।
थोरै पर्यटक मात्रै प्रवेश गर्ने भरतपुर क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको प्रतिशतको हिसाबले हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २० प्रतिशतभन्दा बढी बृद्धि भएको छ । यसै अवधिमा सौराहा क्षेत्रबाट प्रवेश गर्ने पर्यटकको बृद्धि दर ०.९४ प्रतिशत मात्रै छ । गत आर्थिक वर्षमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकोमा अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख ७१ हजार सात ३१ मात्रै थियो । दुई हजार पाँच सय ६८ जना मात्रै सौराहा क्षेत्रबाट बढेको तथ्यांकले देखाएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा गरिएको प्रचारप्रसारका कारण निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्यामा बृद्धि भएको बताउनुभयो । महानगरपालिकाले फागुन १८ गते भ्रमण वर्षको शुभारम्भ गरेको थियो । अब आउने पर्यटकीय सिजनमा यसको थप प्रभाव पर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “अबको मुख्य सिजनमा पर्यटकको संख्या पक्कै बढ्ने छ ।” महानगरपालिकाले अन्तर्राष्ट्रिय समन्वय उपसमिति बनाएर अन्तर्राष्ट्रिय जगतमा यहाँको प्रचारप्रसार गरेको थियो । ३० भन्दा बढी देशमा प्रचार सामग्री र लोगो वितरण गरिएको प्रमुख दाहालको भनाई छ । ६० भन्दा बढी देशका गैरआवासीय नेपाली महासंघका नेतृत्वकतर्तालाई अन्तर्राष्ट्रिय समन्वय उपसमितिको सदस्य बनाईएको छ ।
प्रमुख दाहालको भनाईमा भ्रमण वर्ष शुरु भएसँगै यहाँ गरिएका कार्यक्रमहरुका कारणबाट पनि पर्यटक बढेका हुन् । भ्रमण वर्षका अवसरमा खेलकुद बाहेकका ५५ भन्दा बढी साना ठूला कार्यक्रम महानगरपालिकामा भएका छन् । यसबाट यहाँका होटल व्यवसाय समेत प्रत्यक्ष लाभान्वित भएको प्रमुख दाहाल बताउनुहुन्छ ।
उपप्रमुख चित्रसेन अधिकारीले होटल टाईगर टप्स बन्द भएपछि सुस्ताएको भरतपुरको पर्यटकीय गतिविधि भ्रमण वर्षले केही हदसम्म चलायमान बनाएको बताउनुभयो । झण्डै ५० किलोमिटर सीमावर्ती क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्ज रहेको र प्रमुख प्रवेशद्वार भरतपुरमा छ भन्ने प्रचारप्रसारका कारण यहाँ पर्यटक थपिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “भ्रमण वर्षको प्रभाव देखिएको छ, अबको हिउँदमा अरु बढी पर्यटक आउनेछन् ।”
भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा. विश्व सुवेदीले भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरिएको प्रचारले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । निकुञ्ज प्रवेश गर्ने पर्यटक संख्या बढ्नुमा प्रमुख कारण भ्रमण वर्ष भएको भन्दै उहाँले अब गरिने अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुले पर्यटक थप बढाउने बताउनुभयो ।
वर्षातपछि अन्तर्राष्ट्रिय स्तरबाट धार्मिक पर्यटक आउने गरी धार्मिक कार्यक्रम, देवघाटधाम महोत्सव, जंगल सफारी मार्ट, म्याराथुन जस्ता कार्यक्रम गर्न लागिएको पर्यटन विज्ञ सुवेदीले बताउनुभयो । भ्रमण वर्षका अवसरमा देवनगरमा सर्वसाधारणका लागि हेर्न मिल्ने गरी उद्धार गरिएको पाटेबाघहरु राखिएका छन् । यहाँ आउने पर्यटकले बाघ हेर्ने अवसर पाएका छन् । त्यहाँ पर्यटकको घुईचो लाग्ने गरेको छ ।
यस्तै दियालो बंगला सर्वसाधारणका लागि खुल्ला गरिएको छ । यो पर्यटकका लागि महत्वपूर्ण नयाँ गन्तव्य बनेको छ । समग्र आर्थिक क्षेत्र सुस्ताएको अवस्थामा आयोजना गरिएको भ्रमण वर्षबाट पर्यटन व्यवसायसँगै यहाँको आर्थिक क्षेत्र चलायमान बनेको छ ।

प्रतिक्रिया दिनुहोस !