चितवनः आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा लक्ष्य भन्दा २६ प्रतिशत कम राजश्व संकलन गरेको छ । कार्यालयलाई बिभागले दिएको रु २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्यमा सो को २६ प्रतिशत कम अर्थात रु २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजश्व संकलन भएको छ ।

कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार बिगतका वर्षहरुमा समेत सोही अनुपातमा राजश्व संकलन हुने गरेको थियो । बिभागले लक्ष्य वढाउने तर राजश्व संकलनको दर उही रहँदा लक्ष्य भन्दा कम राजश्व संकलन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा आयकर तर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजश्व संकलन भएको छ । आयकरका लागि बिभागले रु २ अर्ब ९६ करोड ३८ लाख लक्ष्य तोकेकोमा रु २ अर्ब ६३ करोड १६ लाख राजश्व संकलन भएको थियो । यस्तै मूल्य अभिबृद्धि कर तर्फ लक्ष्यको ८४ प्रतिशत मात्र राजश्व संकलन भएको छ । बिभागले रु २ अर्ब ३३ करोड ७२ लाख लक्ष्य दिएकोमा रु १ अर्ब ९५ करोड २२ लाख संकलन भएको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार अन्तःशुल्कमा लक्ष्यको ६९ प्रतिशत मात्र राजश्व संकलन भएको छ । अन्तःशुलकमा बिभागले रु २२ अर्ब ३४ करोड ४१ लाख लक्ष्य तोकेकोमा कार्यालयले रु १५ अर्ब ९८ करोड ८२ लाख संकलन भएको छ । बहाल कर तर्फ ६६ प्रतिशत प्रगति भएको छ । रु ६० करोड ५ लाख लक्ष्य दिईएकोमा रु ४० करोड ३४ लाख राजश्व संकलन भएको भट्टराईले बताउनुभयो । यस्तै व्याजकर तर्फ ६४ प्रतिशत प्रगति भएको छ । रु १८ करोड ३८ लाख ७८ हजार लक्ष्यमा रु ११ करोड ८५ लाख ४ हजार राजश्व संकलन भएको छ । स्वास्थ्य सेवा करमा तोकीएको लक्ष्यको ५९ प्रतिशत मात्र प्रगति भएको उहाँले बताउनुभयो । यस करमा रु ३ करोड ९० लाख लक्ष्य दिईएकोमा रु २ करोड ३२ लाख मात्र राजश्व संकलन भएको छ ।

प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दिका कारण अन्तः शुल्कमा बृद्धि हुन नसक्दा लक्ष्य प्राप्तीमा कठिनाई भएको हो । उहाँले भन्नुभयो “लक्ष्य तोकीए पनि बिगत तीन वर्ष देखि संकलनको दर उस्तै हुँदा लक्ष्य प्राप्तीमा कठिनाई भएको हो ।” बजारमा पैसा नआउनु र जनताको क्रय शक्ति समेत कम हुनुले गर्दा राजश्व संकलनमा कमी आएको उहाँको भनाई छ । देशमा रोजगारीका अबसर सृजना हुन नसक्नु र युवा शक्ति बिदेश पलायन हुनु पनि राजश्व संकलनमा समस्या देखिएको उहाँको अनुमान छ । उहाँले भन्नुभयो “घर जग्गाको कारोबार कम हुनुले पनि राजश्व संकलनमा कमी आएको हो ।” कार्यालयमा व्यक्तिगतरुपमा स्थायी लेखा नम्बर लिने १ लाख ४६ हजार जना र व्यवसायीक लेखा नम्बर लिने ५७ हजार ९१९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !