चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १ पोखरा बसपार्कमा मोटरसाईकल र कार एक आपसमा ठक्कर खाँदा सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुं भानु नगरपालिका वडा नम्बर १२ घर भई नेपाली सेनाको नम्बर २ बिपद व्यवस्थापन गण रसौलीमा कार्यरत २७ बर्षिय सिपाही निगम नेपाली सार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका वडा नम्बर ३ का २६ बर्षिय दिनेश थापा गम्भिर घाईते भएका छन् । मंगलबार राती बसपार्कबाट रामनगर तर्फ जाँदैगरेको बा.प्रदेश ०१–०२८ च ३२८९ नम्बरको कारमा बिपरित दिशाबाट आउँदै गरेको ग २० प ८३१८ नम्बरको मोटरसाईकल ठक्कर खाएको थियो । ठक्करबाट मोटरसाईकल अनियन्त्रीत भई पर्खालमा ठोक्कीन पुगेको थियो ।
ठक्करबाट घाईते दुबै जनाको चितवन मेडीकल कलेजमा उपचार भईरहेको थियो । उपचारका क्रममा सार्कीको मंगलबार राती मृत्यु भएको हो । थापाको सोही अस्पतालमा गम्भिर अबस्थामा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो । मोटरसाईकललाई ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !