चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडक खण्डमा बिगत आठ बर्षमा त्रिशुली नदीमा सवारी साधन खसेर ५५ जना बेपत्ता भएका छन् । २१ वटा सवारी साधन त्रिशुलीमा खस्दा उनीहरु बेपत्ता भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा ५ वटा, २०७४÷०७५ मा ४ वटा, २०७५÷०७६ मा ४ वटा सवारी साधन बेपत्ता भएका हुन् । यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा एउटा, २०७७÷०७८ मा एउटा, २०७९÷०८० मा एउटा र २०८०÷०८१ मा ५ वटा सवारी साधन बेपत्ता भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

बेपत्ता भएका सवारी साधन मध्येबाट आर्थिक वर्ष २०७३÷०७४ मा १४ जना, २०७८÷०७९ मा ४ जना र २०८०÷०८१ मा ३७ जना बेपत्ता भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो । ती सवारी साधनमा रहेका चालक र यात्रु बेपत्ता भएका हुन ।

यस अबधिमा सो सडक खण्डमा ६६ वटा सवारी साधन दुर्घटनामा परेका छन् । आर्थिक वर्ष २०७३÷०७४ सालदेखि आर्थिक वर्ष २०८०÷०८१ सम्ममा ४० वटा ट्रक, ९ वटा बस, १२ वटा जीप, कार, ३ वटा मोटरसाईकल र २ वटा अन्य सवारी साधान सो सडक क्षेत्रमा दुर्घटनामा परेका हुन् ।

सुवेदीका अनुसार बर्षातको समयमा पहिरोमा परेर, तीब्र गतिका कारण अनियन्त्रित भएर सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् । सडक क्षेत्रबाट त्रिशुलीमा खसेर वेपत्ता भएका सवारीसाधनहरु अधिकांश नभेटिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !