
चितवनः नेपाल सरकारका पूर्व अर्थ मन्त्री एबं नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नारायणी नदी कटान क्षेत्रको निरीक्षण अनुगमन गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ गोब्रेनीको स्थित नारायणी नदीको आज निरिक्षण अनुगमन गर्नुभएको हो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेस चितवनका नेताहरु सहित उहाँले सो क्षेत्रको निरीक्षण अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा स्थानीयले बाढी आएर पस्नु भन्दा पहिलानै सुरक्षित गराउन माग राखेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर १८ का स्थानीय जीतवहादुर तामाङ्ले यस क्षेत्रबाट बाढी पस्दा भरतपुर महानगरपालिकाको पश्चिम क्षेत्र डुवानमा पर्ने बताउनुभयो । नदीमा तटवन्ध गर्न सके सुरक्षित वस्न पाईने भन्दै उहाँले मझुवा सामुदायीक वन क्षेत्रबाट जुन सुकै समयमा नदी पस्न सक्ने भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “नदी पस्नु भन्दा पहिलेनै यसको तटवन्ध गरिनु पर्ने हुन्छ ।”
स्थानीयको कुरा सुनी सकेपछि नेता महतले जुन सुकै समयमा पनि नदी पस्न सक्ने भन्दै यसलाई रोक्न सक्दो पहल गर्ने बताउनुभयो । निरीक्षणका क्रममा उहाँले मझुवा सामुदायीक वनबाट नदी बस्ति छिर्ने देखिएकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने भन्दै आफ्नो तहबाट सक्दो पहल गर्ने आश्वासन दिनुभयो । उहाँले तत्काल के गर्न सकिन्छ सल्लाहा गरेर अघि वढाईने बताउनुभयो ।
यस बनबाट नदी पसेमा महानगरपालिकाको वडा नम्बर १७, १८, २७, २८ लगाएतका क्षेत्रमा डुबान हुने स्थानीयले गुनासो राखेका थिए ।