
चितवनः नेपाली काँग्रेस केन्द्रीय कार्यालयले चितवनका पाँच जना नेताहरुलाई सम्मान गरेका छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय बनाउन सहयोग गरेकोमा आज आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, महासमिति सदस्यहरु राजकुमार राजभण्डारी, बिपिन रामुदामु, भरतपुर महानगरपालिकाका नगरसभापति चित्रसेन अधिकारी र रत्ननगरका नगरसभापति प्रल्लाद सापकोटा सम्मानित हुनु भएको हो ।
उहाँहरुलाई बिपि स्मृति दिवसको अबसरमा पुस्तकालयको उद्घाटन समारोहमा सम्मान गरिएको हो । केन्द्रीय कार्यालयमा केन्द्रीय पुस्तकालय स्थापनमा सहयोग गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले उहाँहरुलाई सम्मान पत्र सहित सम्मान गर्नुभएको राजभण्डारीले बताउनुभयो ।
सभापति देउवाले ४२ औं बीपी स्मृति दिवसको अवसरमा पुस्तकालयको उदघाटन गर्नुभएको हो । पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकहरुको संख्या अन्यको तुलनामा बढी छन् । नेपाली कांग्रेसको स्थापना अघि देखिका विभिन्न कालखण्डका दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवम् संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरु पुस्तकालयमा उपलब्ध छन् ।
यो पुस्तकालयमा जोकोही गएर अध्ययन गर्न सक्ने नेपाली कांग्रेसले जनाएको छ ।