चितवनः विगत ६ वर्षदेखि निर्माणाधिन रहेको देवघाटस्थित विद्युतीय शवदाह गृह निर्माण सम्पन्न नहुँदै बाढीको जोखिममा परेको छ । हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भुईतला डुवाएको हो ।
यससँगै शवदाह गृह बन्दै गरेको भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले शवदाह गृह निर्माण गरिरहेको छ । कार्यालयका प्रमुख झपटबहादुर थापाले काम अत्यन्तै ढिलो हुँदा सुरक्षाको काम गर्न नपाएको बताउनुभयो । शवदाह गृह निर्माण स्थल छनोटमा त्यति ध्यान नपुगेको स्वीकार गर्दै उहाँले अब अन्यत्र लैजान नमिल्ने भएकाले सुरक्षाका काम गरेर बाढीबाट जोगाउनुको विकल्प नरहेको बताउनुभयो ।
कार्यालयले नारायणी नदी व्यवस्थापन आयोजनालाई पत्राचार गरी तटबन्ध गरिदिन आग्रह गरेको उहाँले बताउनुभयो । केही दिन बाढी आउँदा गृहको भुई तलामा १.५ फिट पानीले भरिएको स्थानीयले बताएका छन् । सोही तलामा शव जलाउने उपकरण राखिँदै छ । केही अग्लो बनाएर राख्ने भएपनि पानी पस्नबाट रोक्ने गरी सुरक्षाको काम गर्नुपर्ने थापा बताउनुहुन्छ ।

स्थानीय उपभोक्ता समितिले सो क्षेत्रमा बाढी रोक्नका लागि केही वर्ष अघि बनाएको बाँध ठाउँठाउँमा भत्किएर ढल्किएको छ । यसलाई रोक्नका लागि ठाउँठाउँमा जालीमा ढुंगा भरेर आड दिएको भएपनि अपुग भएको थापा बताउनुहुन्छ ।
तटबन्ध पूरै भत्किएर बाढी पसेमा बन्दै गरेको भवन क्षति हुन सक्ने उच्च जोखिम छ । बि.सं. २०७५ माघदेखि निर्माण शुरु भएको शवदाह गृह अझै सम्पन्न हुन सकेको छैन । हालसम्म ४५ प्रतिशत काम मात्रै भएको छ । कार्यालयले चार पटक मिति थप गरेर ताकेता गर्दा समेत काम हुन सकेको छैन । मिलिनियम सिद्धगढी जेभि काठमाण्डौंले निर्माणको ठेक्का पाएको हो ।

ठेक्का लगाउँदा बि.सं. २०७७ साउनमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । थापा समयमा काम सकिएको भए बाढी सुरक्षाको काम त्यसपछिका वर्षहरुमा गर्न सकिने बताउनुहुन्छ । शवदाह गृह रु.११ करोड २१ लाख ८ हजारमा ठेक्का लगाईएको थियो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल केही दिन अघि आएको बाढीले शवदाह गृहको भुई तलामा पानी पसेको बताउनुहुन्छ । यससँगै गृह बन्दै गरेको क्षेत्रमा बाढी रोक्न बनाईएको बाँध ढल्ने अवस्थामा रहेकाले जोखिम बढेको बताउनुहुन्छ ।

तत्काल सुरक्षाको काम गर्नुपर्ने उहाँको भनाई छ । सामान्य काम भएको भएपनि अपुग भएकाले कुनै पनि बेला बाढीले बगाउन सक्ने भएकाले समयमै रोकथामको काम गर्नुपर्ने उहाँको भनाई छ । देवघाटमा दैनिक आठदेखि १० वटा शव ल्याईने गरेको उहाँले जानकारी दिनुभयो । हिउँदको समयमा यो संख्या बढी हुने गर्दछ । बाटोको कारण वर्षातको समयमा कम शव आउने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !