चितवन: अनुचित लेनदेन (मिटर ब्याजी)सम्बन्धी जाँचबुझ आयोगले निवेदन आव्हान गरे संगै पछिल्लो पटक ५९ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा ५७ वटा र जिल्ला प्रहरी कार्यालय चितवनमा दुईवटा उजुरी दर्ता भएका हुन ।
कार्यालयका नायब सुब्बा गोपिचन्द्र दवाडीका अनुसार बि. सं. २०८१ साल जेठ ११ गते देखि असार १४ गते सम्म ती उजुरी दर्ता भएका हुन । जस मध्ये जिल्ला प्रहरी कार्यालयमा परेको एउटा उजुरीको सहमती समेत भईसकेको उहाँले जानकारी दिनुभयो । आयोगले उजुरी आव्हान गरे पछि परेका उजुरी माथि छलफल गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खेमानन्द भुषालको संयोजकत्वमा तीन सदस्यीय उजुरी फच्छ्योट संयन्त्र गठन गरिएको छ ।
उहाँले भन्नुभयो “ संयन्त्रको बैठक वसि परेका उजुरी माथि प्रथामिकताको आधारमा छलफल गरिने छ ।” छलफल मार्फत आपसी समझदारीबाट उजुरीको समाधान निकालिने उहाँले बताउनुभयो । बि. सं. २०८० साल साउन यता बिभिन्न समयमा आयोगले उजुरी आव्हान गरेको अन्य समयमा ९३ वटा उजुरी दर्ता भएका थिए । माघको ८ गते सम्म ती उजुरी परेका थिए । परेका उजुरी मध्ये ८६ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाईएको थियो । प्रहरी कार्यालयमा पठाईएका उजुरी मध्ये ५७ वटा फच्छ्योट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !