चितवन: भरतपुर महानगरपालिकाले यहाँका ५४ वटा समुह, सहकारी र कृषि फर्मलाई कृषि यन्त्र उपकरण उपलव्ध गराएको छ । महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमका बिच ती सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
महानगरपालिकाको कृषि तथा व्यवसाय प्रबद्धन शाखाले आर्थिक वर्ष २०८०÷०८१ को कृषि यान्त्रीकिकरण तथा ढुवानी साधन खरीदमा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत ती संस्थालाई सामाग्री हस्तान्तरण गरिएको हो । शाखाका प्रमुख तेजेन्द्र प्रसाद पौडेलका अनुसार अनुदानमा चारवटा ट्याक्टर, ६ वटा हाते ट्याक्टर(मिनिटिलर), धान गहुँ काट्ने मेसिन (रिपर) १२ वटा हस्तान्तरण गरिएको छ ।
यस्तै धान गहुँ झार्ने मेसिन (थ्रेसर) ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने मेसीन(कर्न सेलर) १७ थान, तोरी मिल ३ थान, मकै रोप्ने मेसिन (मेज प्लान्टर) ३ थान, घाँस टुक्राउने मेसीन (च्याफ कटर) ८ थान, राइस मिल २ थान हस्तान्तरण गरिएको छ । मिल्क एनलाइजर ६ थान, चिलिङ भ्याट २ थान, तरकारी खेती गर्ने किसानका लागि बोलेरो २ थान र तिनपाङ्ग्रे अटो २ थान हस्तान्तरण गरिएको हो । महानगरपालिकाको रु १ करोड अनुदानमा ती सामाग्री खरिद गरेर उपलव्ध गराईएको उहाँले जानकारी दिनुभयो ।
सो अबसरमा प्रमुख दाहालले महानगरपालिकाले कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यवसायीकीकरण र वजारीकरणमा महत्वपूर्ण रुपमा काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले हरेक वर्ष कृषि क्षेत्रलाई उच्च प्रथामिकतामा राख्दै आईरहेका छौ ।” किसानको आबश्यकता के हो भन्ने बुझेर महानगर अघि वढ्दै आएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “खडेरीका कारण शुख्खा क्षेत्र भएका ठाउँहरुमा सिचाईका लागि बोरीङ् सहित नारायणी लिफ्ट सिचाई आयोजनालाई नियमित संञ्चालन गर्ने प्रकृयामा महानगर लागि परेको छ ।”
महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले अनुदानमा कृषि सामाग्री प्राप्त गर्ने संस्थाहरुले यसको उचित व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अनुदानमा प्राप्त सामाग्रीको व्यवस्थापन र संरक्षण प्रभावकारी रुपमा होस् ।” बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि किसानको माग अनुसार सामाग्री प्रदान गरिएको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !