चितवनः असार महिना सकिनै लाग्दा यहाँका कृषकहरु कामदार खोज्नमा व्यस्त छन् । यहाँ व्यवसायीक रुपमा कृषिकर्म गर्दै आएका किसानहरु अहिले कृषि कामका लागि मजदुर खोजी गर्दै हिड्नु पर्ने अवस्था छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ का कृषक चन्द्रप्रसाद अधिकारी अहिले धान रोप्ने मजदुर (खेतला) को खोजिमा हुनुहुन्छ । उहाँले स्थानीय मजदुरहरु नपाएपछि तराई मुलका मजदुरबाट धान रोपाउने योजनामा हुनुहुन्छ । उहाँले भन्नुभयो “स्थानीय श्रमिक पाउनै कठिन भएको छ । यहाँ जेष्ठ नागरिकहरु मात्रै हुनुहुन्छ ।” युवा पुस्ताहरु बिदेश पलायन हुनु र यहाँ भएका श्रमिकहरु पनि खासै काममा जाँगर नदेखाउनुले गर्दा समस्या भएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “नेपालमानै रहेका युवाहरुमा समेत काम गर्ने जाँगर नहँुदा स्थानीय मजदुर पाउन कठिन भएकाले तराई मुलका मजदुर प्रयोग गर्न थालेका छौं ।”

पछिल्ला दिनहरुमा तराईमुलका मजदुरहरु यतै कोठा भाडामा लिएर काम गर्न थालेको उहाँले बताउनुभयो । सुख्खा ठाउँमा पानीको सन्तुलन मिलाउन नसक्दा प्रबिधिको प्रयोग गर्न समेत कठिन हुने गरेको किसानहरुको गुनासो छ ।

यस्तै समस्यामा हुनुहुन्छ भरतपुर महानगरपालिका वडा नम्बर २४ मा एग्रो नारायणी प्रालि फर्म नै दर्ता गरेर कृषि कर्म गर्दै आउनुभएकी रतिमाया गुरुङ् । उहाँले अहिले पाँच विगाह क्षेत्रफलमा धान रोप्ने तयारीमा हुनुहुन्छ । तर उहाँलाई धान रोप्ने मजदुर पाईने हो या होइन भन्ने डरले निकै सताएको छ । अहिले जिल्लाका अधिकांश किसानहरुले श्रमिकका रुपमा तराई मुलका मजदुरलाई प्रयोग गरेका छन् ।

भरतपुरकै शिब शर्मा अहिले धान रोप्नका लागि श्रमिकको खोजिमा हुनुहुन्छ । उहाँले आफ्नो खेतमा धान रोप्नका लागि समेत तराईमुलका श्रमिमको साहारा लिनु परेको बताउनुभयो । उहाँले भन्नुयो “स्थानीय रुपमा काम गर्न सक्ने युवा युवती बिदेश पलायन भईसके । अब कसरी खेती गर्ने ।” उहाँले अहिले स्थानीय रुपमा बृद्धबृद्धा बाहेक समाजमा कोही नहुँदा कृषि कर्म समेत समस्यामा पर्ने हो की भन्ने चिन्ता लागेको सुनाउनु भयो ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले पछिल्ला वर्षहरु स्थानीय कामदार पाउनै कठिन हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “स्थानीय रुपमा कामदार पाए पनि महङ्गो पर्ने गरेको किसानहरुले गुनासो गर्ने गरेका छन् ।” स्थानीय रुपमा पाईने कामदारले जाँगर चलाएर काम नगर्ने र पूरा समय समेत काम लिन नसकिने गरेको गुनासो आउने गरेको उहाँले सुनाउनुभयो । जिल्लाका अधिकांश क्षेत्रमा तराईमुलका कामदारहरुले धान रोप्ने काम गरेको भन्दै उहाँले युवा शक्ति पलायन हुँदा स्थानीय कामदार पाउन कठिन भएको बताउनुभयो ।

पछिल्ला दिनहरुमा मजदुरको समस्या बन्दै जाँदा मेसिनबाट धान रोप्ने क्रम बढ्दै गएको छ । मेसिनबाट रोप्नका लागि बिउ राख्ने समयमा नै सोही अनुसार राख्नुपर्ने हुन्छ । जिल्लामा हालसम्म ५५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । यहाँ २२ हजार ८७० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिदैं आईएको छ । उहाँका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाई सुरु भएको हो । पश्चिम क्षेत्रमा भने केही ढिलो रोपाई शुरु भएको छ । नारायणी लिफ्टबाट पानी छोडेसँगै सुख्खा क्षेत्रमा समेत रोपाई सुरु भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा साबित्री, गरिमा, सावामन्सुली, रामधान र उन्नत जातका धानहरु लगाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !