
चितवनः गोरखाको विकट हिमाली क्षेत्रमा रिसोर्ट चलाउँदै आउनु भएका पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाले हिमाल र तराई जोड्ने गरी यहाँ रिसोर्ट सञ्चालनमा ल्याउनु भएको छ । स्थानीय दुई जना साझेदारलाई लिएर उहाँले हिमाली क्षेत्रको ढिडोदेखि तराईको थारु सांस्कृतिक परिकार पस्किने गरी सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउनु भएको हो ।
लामाको गोरखाको चुमनुब्री गाउँपालिकाको नामरुङमा सुविधासम्पन्न नुब्री फोर सिजन रिसोर्ट छ । त्यहाँ पर्यटक हेलिकप्टरमा पुग्ने गर्दछन् । हिमालमा पर्यटक घुमाउँदै आउनु भएका लामालाई तराईको चितवनसँग हिमाल जोड्ने रहर जाग्यो । तराईका साझेदारसँग मिलेर हिमालका लामाले कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा मुनाल एण्ड मयूर वेलनेस रिट्रिट रिसोर्ट सञ्चालनमा ल्याउनु भएको हो ।
होटलका अर्का सञ्चालक सुशिल चौधरीका अनुसार नेपालको हिमाली भेगदेखि तराईको गर्मीसम्म पाइने विभिन्न परिकारहरूसँगै यहाँ शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन वेलनेस प्रविधिसमेत जडान गरिएको छ । प्रविधि र सेवा सुविधामा समेत उच्च स्तरको रहेको यो होटलमा ५२ वटा कोठा रहेका छन् । हाल २२ वटा कोठा सञ्चालनमा आएका छन् । हिमालदेखि तराईका सँस्कृति झल्काउने भिल्लाहरू होटलमा छन् । तीन वटा भिल्ला रहेका छन् । जसमा पौडीपोखरी भिल्ला भित्रै छन् । एउटा सञ्चालनमा आईसकेको छ भने दुई वटा सञ्चालनको अन्तिम तयारीमा छन् ।
एउटै भिल्लाको एक रातको रु.एक लाख २० हजार शुल्क लाग्ने चौधरीले जानकारी दिनुभयो । त्यसो त होटलमा सामान्य कोठा रु.९ हजार ८०० देखि शुरु हुन्छ । आठ वटा थारु साँस्कृतिक कोठाहरु पनि छन् । जसमध्ये दुई वटा सञ्चालनमा आएका छन् । दुई विगाहा क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा सभाहल, बैंकेट हलसँगै सुविधासम्पन्न पौडिपोखरी छ । यहाँ प्राकृतिक रूपमा तनावमुक्त गराउन स्वीमिङ पुल, अक्सिजन च्याम्बर, साउना तथा मसाज सुविधासमेत छ । यो सबै हेर्नका लागि मलेसियन नागरिक डोनाल्ड च ९म्यलबमि ऋजब० महाप्रबन्धकको रुपमा कार्यरत हुनुहुन्छ ।
२० वर्ष अघि पोखराको फूलबारी रिसोर्टमा महाप्रबन्धक भएर नेपालमा काम थाल्नुभएका उहाँसँग स्पासम्बन्धी राम्रो ज्ञान छ । उहाँले भन्नुभयो “यो रिसोर्ट नेपालको नमूना रिसोर्ट हो । जहाँभित्र पोलिक्लिनिक समेत रहेको छ ।” विश्वमा बनेका आधुनिक उपकरणको प्रयोग गरेर एलोपेथी र नेचुरोपेथीको समिश्रणमार्फत् उपचार समेत गरिने उहाँले बताउनुभयो ।
पर्यटनकर्मीहरू लामा, चौधरीसँगै राजेन्द्र महतोको लगानीमा होटल सञ्चालनमा आएको हो । लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ भने निजी भिल्ला लिएर बस्नेले निजी स्वीमिङ पुल, साउना, ज्याकुची लगायतको सुविधा पाउने छन् ।
यहाँ मनास्लु हिमाल वरपरको स्याउका परिकार, भीर मौरीको मह, यार्सागुम्बा लगायत जडीबुटी, जडीबुटीको तेल, हिमाली खाद्यान्न समेत खान र किन्न पाईन्छ । लामाको भनाईमा यहाँको थारु परिकार होटलमा पाईन्छ । यो होटलमा हालसम्म रु.५० करोडभन्दा बढी लगानी भईसकेको छ । छ महिनाभित्रमा पूर्ण रुपमा सञ्चालन आउँदै गर्दा लगानी रु.एक अर्ब हाराहारी पुग्ने उहाँ बताउनुहुन्छ ।
यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराईचुली, देवघाट लगायतका पर्यटकीय गन्तव्यहरुमा घुमाउने व्यवस्था रहेको छ । हालै होटलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उद्घाटन गर्नुभएको हो ।