चितवनः भरतपुर महानगरपालिका भित्र स्थायी वसोबास गर्ने ७७६ जना बालिकाको जीवन बिमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० बाट सुरु गरेको छोरीसँग मेयर कार्यक्रम अन्तर्गत दुई वर्षमा सो संख्यामा जन्मिएका बालिकाहरुको बिमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रो पटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो ।

महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाकी निर्देशक शान्ता कुमारी पौडेलका अनुसार गत आर्थिक वर्षमा ३८८ जना र यस आर्थिक वर्षमा ३८९ जना बालिकाको बिमा गरिएको छ । भरतपुर महानगरपालिकामा स्थायी बसोबास भएर सरकारी स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरुको लागि यो कार्यक्रम लागू गरिएको हो ।

बालिकाको जन्म भएपछि महानगरले बिमा बराबरको रकम रु ५० हजार बाल उमंग बिमाका लागि प्रदान गर्ने छ । उहाँले भन्नुभयो “१५ वर्षे बिमा कार्यक्रम भएकाले हरेक वर्ष नविकरण महानगरले गर्ने छ ।” १५ वर्ष पछि ती बालिकाले रु १ लाख पाउने उहाँले बताउनुभयो ।

महानगरपालिकाले यस वर्ष बिमा नविकरण र नयाँ बिमा गरी रु २५ लाख ७७ हजार ८६२ बिमा कम्पनीलाई बुझाएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले सरकारी अस्पतालमा प्रसुती गर्न आउनेको संख्या बढाउन र छोरा र छोरीमा हुने बिभेद अन्त्यका लागि महानगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । आफू पहिलो पटक प्रमुख हुँदा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाहरुको बहिरंग टिकट निःशुल्क गरेको बताउँदै उहाँले दोस्रो कार्यकाल प्रमुख भएर आएसँगै छोरी बिमा कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “छोरीहरु उच्च शिक्षा पढ्ने समयमा यो बीमाको रकम पाउने भएकाले कोही पनि छोरी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर नै यो कार्यक्रम ल्याएका हौं ।”

प्रतिक्रिया दिनुहोस !