चितवनः भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दी लगायतका कारण विगत पाँच वर्षदेखि लागत मूल्य पाउन नसकेका किसानले पछिल्लो समय लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजारीकरणसँगै मूल्य बृद्धि भएपछि किसानले लागत मूल्य पाउन थालेका हुन् ।

किसानहरु पलायन हुन थालेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजि गरिएको थियो । विज्ञ समूहले रु.१६.५६ किसानको लागत मूल्य निकालेको छ । गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो रु.४९५ र मिडियम रु.४७० पाउन थालेका छन् । यसलाई हेर्दा ठूलो अण्डाको फार्म मूल्य रु.१६.५० पुगेको छ ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाउन सकेको बताउनुभयो । उहाँका अनुसार बि.सं. २०७६ सालमा किसानले लागत मूल्य हाराहारी पाएका थिए । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु.४०५ पुगेको थियो । तत्कालिन समयमा लागत मूल्य कम थियो । त्यसपछिका दिनहरुमा कोभिड, बर्डफ्लू लगायतका कारण किसानले लागत मूल्य पाउन नसकेको उहाँको भनाई छ ।

पोखरेलले भन्नुभयो “अब सबै मासिने भयौं भनेर हामी संगठित रुपमा लागेका कारण बच्न सक्ने अवस्थामा आईपुगेका छौं ।” बि.सं. २०७९ असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर संघ गठन गरी बजारीकरण अभियानको रुपमा शुरु गरिएको थियो । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु.२३० थियो । त्यो मूल्यमा अण्डा बिक्री गर्दा धेरै किसान पलायन भईसकेका थिए ।

पोखरेलका अनुसार ७५ प्रतिशत लेयर्स कुखुरा पालक किसान लागत मूल्य नपाएका कारण घाटा खाएर पलायन हुन बाध्य भएका छन् । बाँकी रहेकालाई टिकाउनका लागि कम्तीमा लागत मूल्य पाउनै पर्ने हुन्छ । उहाँले भन्नुभयो “हामी संगठित रुपमा नलागेको भए अहिले दैनिक करोडौंको अण्डा बाहिरबाट ल्याउनु पर्ने बाध्यता हुन्थ्यो ।”

नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने लामो समयपछि किसानले लागत मूल्य पाउन सकेको बताउनुहुन्छ । पछिल्लो समय किसानले व्यवसायिक रुपमा ठूलो संख्यामा कुखुरा पालेकै कारण धान्न सकेको बताउनुहुन्छ । अहिले ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अण्डा दैनिक उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । धेरै कुखुरा हुँदा ६० लाख नाघेका थिए । कुखुरा पाल्दै आएका किसान विस्थापित भएपछि धेरै खोर खाली छन् । लामिछानेले किसान संगठित भएर राष्ट्रिय रुपमा बजारीकरणमा जुटेका कारण लागत मूल्य पाउन सकेको बताउनुहुन्छ ।

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवं पुराना पोल्ट्री व्यवसायी त्रिलोचन कँडेल किसान संगठित भएर प्रधानमन्त्री, मन्त्री, सचिव लगायत सरोकारवालाहरुलाई सीमा क्षेत्रबाट अवैध रुपमा आउने अण्डा रोक्ने काम भएको बताउनुहुन्छ । यससँगै पछिल्लो समय बैंक व्याज घट्दा पनि किसानलाई राहत भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “हाम्रो दुई वर्षको अथक प्रयासपछि किसानमा आशाको किरण पलाएको छ ।” पेशा व्यवसाय छोड्छु भनेकाहरुले समेत ऋणधन गरेर पुनः व्यवसायमा फर्किने तयारीमा रहेको उहाँ बताउनुहुन्छ ।

किसानकोबाट मूल्य डिलर, डिलर हुँदै पसलहरु मार्फत् उपभोक्ताकोमा पुग्ने हुँदा किसानको र उपभोक्ताको मूल्यमा फरक हुने गरेको कँडेलले बताउनुभयो । यो बीचमा लाग्ने ढुवानी, प्याकिङ, नाफा लगायतका कारण उपभोक्तासम्म पुग्दा केही खर्च बढ्ने उहाँको भनाई छ । अहिले उपभोक्ता मूल्य प्रतिगोटा रु.२२ छ ।

प्रतिक्रिया दिनुहोस !