
चितवनः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जीबी) राई मलेसियामा रहेको ठाउँ पत्ता लागि सकेको बताउनुभएको छ । भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै लामिछानेले आफुले मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्रीले फरार जीबी राईको रहेको ठाउँ दिई सकेको बताउनुभयो ।
गृहन्त्री लामिछानेले भन्नुभयो “जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ । त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भएको हो । कोसिस जारी छ ।” जीबी राईको विषयमा तीन दिन अघि मात्रे मलेशियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भएको लामिछानेले जानकारी दिनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्ति सरकार वा गठबन्धनमा समस्या आएको भन्ने नबुझ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “हामीले राम्रो काम गर्न सकेनौं भने वा काम गर्न पाइएन, सकिएन भने टाँसिइरहेर बसेर हुँदैन भनेर सुरूवातदेखि नै भनिरहेका छौं। यो रास्वपाको मूल स्वभावको निरन्तरता हो ।” मन्त्री लामिछानेले यी सबै कुरा बजेटसँग सम्बन्धित रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो “बजेटमा काम गर्ने तौरतरिका, बजेट निर्माण हुने प्रणाली, मन्त्रीको पनि त्यति पहुँच हुन नसक्ने, त्यसको अभिव्यक्ति हो । त्यसको ब्याख्या चाहीँ सरकार नै समस्यामा प¥यो कि भन्ने आयो। त्यस्तो होइन ।” लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब रहेको बताउनुभयो ।
उहाँले बजेटबारे छलफलका लागि पर्याप्त समय पनि नभएको जानकारी दिनुभयो । त्यही छलफलका लागि समय नभएका विषयलाई अभिव्यक्त गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “कुनै कारणले समय पर्याप्त नहुँदा र फेरि गठबन्धन परिवर्तन पनि हुँदा त्यसले सोचेजस्तो हुन नपाएको कुरालाई राम्रोसँग लोकतान्त्रिक पद्धतिबाट मजाले अभिव्यक्त गरेको मात्रै हो ।”
गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षक फेर्ने चर्चा कतै नचलेको बताउनुभएको छ । उहाँले कसैले चर्चा चलाइको र त्यसमा सत्यता नरहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो “कुनै हरिबिजोक कन्त बिजोक डटकमले लेखेको समाचारको हेडलाइन पढेर यथार्थ नबुझिकन बोल्नु गलत हो ।” डिआइजी बढुवामा पालो मिचिएको भन्ने पत्रकारको जिज्ञासामा उहाँले त्यस्तो कहिले पनि नहुने बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो “गृहमन्त्रीले प्रहरी नायव महानिरिक्षक नसारे के सार्छ त?”