
चितवन: गणतन्त्र संस्थागत गर्ने दायीत्व सबैको रहेको सरोकारवालाहरुले बताएका छन् । गणतन्त्र दिबश मुल समारोह समिति चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले गणतन्त्र संस्थागत गर्ने दायीत्व नागरिक समाज, राजनैतिक दल, निजामती कर्मचारी लगाएत सबैको उत्तिकै रहेको बताएका हुन ।
बागमती प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गणतन्त्रलाई संस्थागत गर्दै यसको अनुभूती जनताले प्रत्यक्ष पाउने गरी सरकारले काम गरेको बताउनुभयो । गणतन्त्रलाई संस्थागत गर्ने दायीत्व सबैको भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “गणतन्त्र आएको लामो समय हुँदा पनि कार्यान्वयन पक्षमा केही समस्या देखिएको छ । यसलाई सबैले एक भएर कार्यान्वयनमा ल्याउनु पर्छ ।” मुलुकमा गणतन्त्र स्थापना भए संगै भएका बिकास र बढ्दैगरेको जनताको अपेक्षालाई प्रदेश सरकारले आत्मसाथ गरेर काम अघि वढाउने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले गणतन्त्र स्थापना पछि भएको राजनैतिक परिवर्तनबाट जनताले प्रत्यक्ष रुपमा महशुस हुने गरी काम हुन नसकेको बताएका थिए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु उत्तम जोशी, हरि सापकोटा, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा समाजबादीका जिल्ला अध्यक्ष नरेन्द्र कन्दङ्वा लगाएतले गणतन्त्र संस्थागत गर्नका लागि दलहरुमा एकरुपता हुन जरुरी रहेको बताउनुभयो । एक ले अर्कालाई गालि गरेर समस्या समाधान नहुने र गणतन्त्र संस्थागत समेत हुन नसक्ने उहाँहरुको भनाई थियो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले गणतन्त्रलाई अझै बलियो वनाउन सबैको सहयोग र सक्रियताको खाँचो रहेको बताउनुभयो । कार्यक्रम अघि गणतन्त्र दिवसको अबसर पारी भरतपुरको चौबिसकोठीबाट जिल्ला समन्वय समितिको कार्यालय सम्म प्रभातफेरी गरिएको थियो ।