चितवनः चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथि गैंडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरे संगै गैंडा आन्तरिक स्थानान्तरण्को काम सकिएको छ । सो क्रममा आठ वर्ष देखि ३० वर्ष सम्मका गैंडालाई स्थानान्तरण गरिएको हो ।

पश्चिममा गैंडाको संख्या बढी भएपछि पूर्व स्थानान्तरण गरिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार चैत २ गते देखि गैंडा स्थानान्तरको काम सुरु गरिएको थियो । नवलपरासी वर्दघाट–सुस्ता पूर्ब कावासोती बाट ३० वर्षको भाले गैंडालाई कसरा देखि पूर्ब तमोरताल क्षेत्रमा ल्याएर छोडीएको छ । यस्तै दिव्यपुरी पोष्ट क्षेत्रबाट १७ र ८ वर्षका भाले गैंडालाई खगेन्द्रमल्ली रेञ्जर पोष्ट दक्षिण क्षेत्रमा ल्याएर छोडीएको उहाँले जानकारी दिनुभयो ।

यस्तै निकुञ्जको सुकीभार क्षेत्रबाट १४, १६ र १३ वर्षको पोथि गैंडालाई खगेन्द्र मल्लि रेञ्जर पोष्टको क्षेत्रमा ल्याएर छोडीएको छ । यस्तै सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोष क्षेत्रमा रहेको १० वर्षको भाले गैंडालाई कोसिटपु वन्यजन्तु आरक्ष सप्तरीमा स्थानान्तरण गरिएको हो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको संख्या बढी भएपछि त्यहाँका केही गैंडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गरिएको हो ।

निकुञ्जका हात्ती, हात्ती सारे, प्राबिधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैंडा स्थानान्तरणमा परिचालन भएका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदन अनुसार गैंडा स्थानान्तरण गरिएको हो ।

पछिल्लो गणना अनुसार नेपालमा ७ सय ५२ वटा गैंडा रहेका छन् । जस मध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैंडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ गैंडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन् ।

प्रतिक्रिया दिनुहोस !