चितवनः चितवन र तनहुँमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल चितवन आउँदै हुनुहुन्छ । उहाँ भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ घिन्टार जोड्ने मेटरेवल पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल आज चितवन आउन लाग्नु भएको हो ।

पुलको पौडेलले दिनको १२ः १५ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पूल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटन संगै तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रममाको जेष्ठ नागरिक भवनको समेत शिलन्यास गर्नुहुने छ । उहाँ आज बिहान भरतपुर बिमानस्थल हुदै ती कार्यक्रमहरुमा सहभागी हुनुहुने छ ।

उहाँले बि. सं. २०७१ सालको कात्तिक २० गते शिलन्यास गरिएको पुलको उदघाटन गर्न लाग्नुभएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार प्राविधिक समस्या आएको, हावाहुरीले निर्माणकै क्रममा ढलेको लगायतका कारण पुल निर्माणको काममा ढिलाई भएको हो । निर्माण कार्य सुरु हुनु अघि बनाईएको नक्शाङ्कन बीचमा संशोधन गर्नुपर्दा समय लागेको उहाँले बताउनुभयो । सो पुल निर्माणका क्रममा निर्माण सुरु गरी नक्शा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो ।

पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइ माथि नक्शा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय २० मिटर ढलान गरिएको छ भने अन्य स्थानमा स्टिलको स्पान बनाईएको छ ।

ठेक्का सम्झौता भएको मितिले ३ वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको हो । निर्माणका क्रममा बि. सं. २०७७ साल चैत २४ गते पहिलो पटक निर्माणाधिन पुल भत्किएको थियो । दोस्रो पटक २०७९ साल बैसाखमा भत्किएको थियो । दुई पटकसम्म पुल भत्किए पछि काममा थप ढिलाई भएको हो ।

पुल निर्माणका लागि शुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संसोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ । पौडेलले नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, बनेर सक्नै लाग्दा पुल भत्कनु लगायतका कारण काममा ढिलाई भएको जानकारी दिनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष पौडेलले पुल बने संगै देवघाटबासीलाई चितवन आवत जावत सहज बनेको बताउनुभयो । आँफुहरुको प्रयास र पहल संगै राष्ट्रपति पौडेलको सहयोगमा यो पुल बन्न सहयोग पुगेको हो ।

प्रतिक्रिया दिनुहोस !