चितवनः अनुचित लेनदेन (मिटर व्याज)का मुद्दाहरु जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चारवटा निवेदनमा मिलापत्र भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनबाट माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदन मध्ये ४ वटा र सोही मितिपछि परेका दुईवटा निवेदन मध्ये एउटाको मिलापत्र भएको हो ।
अन्य निवेदन माथि समेत दुई पक्षलाई बोलाएर छलफल गराई राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार माघ ११ गतेदेखि गृहमन्त्रालयको निर्देशन अनुसार अनुचित लेनदेनका निवेदन प्रहरीले हेर्न थालेको हो । सो क्रममा रु १६ लाख बराबरको निवेदनमा मिलापत्र भएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय चितवनमा ८६ वटा निवेदन मध्ये २३ वटा निवेदन कार्यालयले प्रहरीमा नआउँदै मिलापत्र गरेको थियो ।
भण्डारीका अनुसार अहिले प्रहरीले अनुचित लेनदेनका निवेदन नियमित लिने गरेको छ । निवेदन माथि छलफल गराउँदा अनुचित ठहरिय सोही अनुसार अघि वढ्ने र छलफलका क्रममा मिलापत्र भए मिलापत्र गर्ने गरेको उहाँले बताउनुभयो ।
प्रहरीमा निबेदन आएसँगै अहिलेसम्म कुनै पनि मुद्दा अदालतमा नगएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामी छलफलबाट समस्या समाधानका लागि लाग्छौं । नमिलेको खण्डमा मात्रै मुद्दा दर्ता प्रक्रियामा अघि बढाउँछांै ।” बाँकी रहेका निवेदनमा समेत बादी र प्रतिवादी बोलाएर छलफल गराउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !