चितवनः उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले सहकारी पिडितसंग सरकारले बार्ता मार्फत समस्या समाधानको प्रयास गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकारी बार्ता टोली र सहकारी पिडितको बार्तामा सहमती भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।” देशभरीका सहकारी पिडतको समस्या समाधान गरीने उहाँको भनाई थियो । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पती खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उहाँले बताउनुभयो ।
उहाँले थप्नुभयो “सरकारले ज–जसको बचत हिनामिना भएको छ त्यसको फिर्ता गर्नका लागि जो–जो मानिस भागेका छन् अपचलन गरेका छन् । उनीहरुको सम्पती खोजेर त्यसलाई के कसरी हुन्छ उपलव्ध गराउने र उनीहरु जहाँ भए पनि ल्याउने काममा सहमती भएको छ । त्यो कार्यान्वयनका लागि अघि वढ्छ ।”
सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबि राईलाई नियन्त्रणका लागि सरकारले पुरै शक्ति परिचालन गरेको उहाँले बताउनुभयो । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्बजनिक गर्न नहुने भन्दै उहाँले राई छिट्टै पक्राउ पर्ने बिश्वास व्यक्त गर्नुभयो ।
सरकारले गरेका कामको नतिजा पूर्ण रुपमा आउने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “काँही कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोश नफसोस् दोशी नउम्कोस भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यही अनुसार काम हुन्छ ।” प्रकृयामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उहाँले बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले चेपाङ् समुदायका लागि राज्यको उपस्थिती हुने गरी सरकारले काम गर्ने बताउनुभयो । बिज्ञहरु र सरोकारवाला प्रतिनिधिहरु संगको छलफलबाट यस वर्ष बजेटमानै राखेर काम गर्न लागिएको उहाँले बताउनुभयो । जनताको दुःखमा राज्य पुग्नुपर्ने उहाँको भनाई थियो ।