चितवनः  बागमती उद्योग परिसंघको आयोजना र चितवन उद्योग संघको सहकार्यमा महिला उद्यमीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ११४ औ नारी दिवसको अवसरमा बिहिबार भरतपुरमा उद्यमशीलता , महिलाको लागि चुनौति र अवसर बिषयक छलफल तथा अन्तरक्रिया भएको हो ।
सहभागी महिलाहरुले राज्यले महिला उद्यमीलाई दिएको छुट सहुलियत नदिएको भन्दै गुनासो गरेका थिए ।
सो अवसरमा बोल्दै फर्निचर व्यवसायी संघ चितवनका अध्यक्ष वीरञ्जना घिमिरेले उद्यमशीलता आर्थिक विकासको मेरुदण्ड भएपनि राज्यले प्राथमिकतामा नराखेको बताउनु भयो । महिला उद्यमशिलताको लाभ सिमित पहुंँचवालाले मात्रै लिएको भन्दै वास्तविक महिला उद्यमी सधै पछि परेको बताउनु भयो ।
महिला उद्यमी मञ्च चितवनका अध्यक्ष सृजना सोतीले पहिलेभन्दा पछिल्ला दिनहरुमा महिलालाई काम गर्न सहज भएपनि समाजको संकीर्ण सोचाईका कारण अघि बढ्न नसकेको बताउनु भयो । उहांँले महिला उद्यमशीलतामा बैंक ब्याजदर, क्षमता अभिवृद्धि तालिम तथा सहुलियत राज्यले उपलब्ध गराएको भनेपनि सहजरुपमा यसलाई प्रयोग गर्न नपाएको बताउनु भयो । आगामी दिनमा महिलाहरु एकजुट भई प्राप्त उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा उहांँले जोड दिनुभयो ।
चितवन चेम्बर अफ कमर्सका निवर्तमान कोषाध्यक्ष निर्मला पण्डितले महिला उद्यमीले बिहान घरबाट निस्केर र घर नफर्केसम्म विभिन्न चुनौति खेप्दै आएको बताउनु भयो । महिलाको जीवनशैलीमा व्यापक परिवर्तन आएपनि सोचमा परिवर्तन नआएको उहांँले बताउनु भयो । राज्यले महिलालाई सहुलियत, आरक्षण र अवसर दिएपनि व्यवहारमा सधै पछि पारेको उहांँको भनाई थियो । ‘जापानमा ९२ प्रतिशत महिला सरकारी ओहोदामा काम गर्छन , उहांँले भन्नुभयो, नेपालमा अझैपनि राज्यको उच्च तहमा नेपाली महिलामा औंलामा गन्न सकिने मात्र छन । ’
उद्योग वाणिज्य संघ चितवनका सदस्य अस्मिता तिमिल्सिनाले महिला उद्यमीहरु नेतृत्वदायी, उत्तरदायित्व र इमान्दारिता भएपनि राज्यले अवसर नदिएको गुनासो गर्नुभयो । आगामी दिनमा महिलाहरुले सामुहिक लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
सहभागी अन्य कल्पना पौडेल, अम्बिका धिताल, गिता पौडेल, ईश्वरी सिंखडाले महिलालाई राज्यले सीपमुलक तालिम दिनुपर्ने, सरकारी नीति महिला मैत्री हुनुपर्ने, नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्ने, स्थानीय उत्पादनको बजारीकरणको जिम्मा सरकारले दिनुपर्ने, सरकार फेरिएसंँगै नीति नियम फेरिने , सहुलियत कर्जा सबै महिला उद्यमीलाई उपलब्ध गर्नुपर्ने भन्दै गुनासो गर्नुभएको थियो ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका निवर्तमान मन्त्री उमा रेग्मी, वागमती प्रदेश सभासद गिता गुरुङ्ग, माया श्रेष्ठले महिला अधिकार, उद्यमशीलताका विषयमा आफूहरुले जोडदार आवाज उठाउंँदै आएको र आएका विषयलाई सम्बोधन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम बागमती उद्योग परिसंघका अध्यक्ष चन्दना कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !