चितवनः चितवन राष्ट्रिय निकुञ्जले बाघको अबस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायीक वनहरुमा बाघको अबस्था वुझ्न राखिएका क्यामेराहरु झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायीक वन क्षेत्रमा बाघको इकोलोजिकल मोनिटरीङ गर्नका लागि क्यामेरा ट्यापिङ् गरिएको थियो ।
असोज २५ गते देखि राखिएका क्यामेराहरु एक साता अघि निकालिएको हो । निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा क्यामेरा ट्यापिङ्को काम गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार मङ्सिर ५ गतेबाट वनमा राखिएका क्यामेराहरु निकाल्न थालिएको हो । क्यामेरा ट्यापिङ्को बिधिबाट बाघको अबस्थाबारे जानकारी लिइएको छ ।
माडीको सोमेस्वर क्षेत्रबाट क्यामेरा ट्यापिङ्को काम सुरु गरिएको हो । यसका लागि ६२ वटा क्यामेरा २ वर्ग किलोमिटरको फरकमा जडान गरि बाघको अबस्था बारे जानकारी लिईएको उहाँले बताउनुभयो । तीन वटा व्लकमा बिभाजन गरी क्यामेरा ट्यापिङ्को गरिएको उहाँले जानकारी दिनुभयो । एउटा व्लकमा १७ देखि २१ वटा ग्रिड निर्माण गरी क्यामरा जडान गरिएको थियो । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरी बाघको अध्ययन गरिएको तिवारीले बताउनुभयो । बाघको सम्भावित क्षेत्रको अध्ययन गरि ग्रीड बनाएर क्यामेरा जडान गरिएको हो । उहाँले भन्नुभयो “क्यामेरा निकालेर अहिले अध्ययनको काम भईरहेको छ ।” अध्ययनका लागि प्राबिधिक टोली खटिएको भन्दै उहाँले अहिले फोटो संकलन, अध्ययनको काम भईरहेको जानकारी दिनुभयो । फोटोमा देखिएको बाघको पाटाको आधारमा बाघको अबस्थाबारे अध्ययन गरिने छ । उहाँले भन्नुभयो “अवको एक महिना भित्र सो क्षेत्रमा रहेका बाघको अबस्थाको बारेमा प्रतिवेदन तयार हुने छ ।”
टाइगर इकोलोजिकल मोनिटरीङ् अफ सोमेश्वर हिल कार्यक्रम अन्तर्गत बाघको बासस्थान र अबस्थाको अध्ययन गरिएको हो । तिवारीका अनुसार सन् २०१८ मा सो क्षेत्रमा ३ वटा बाघ रहेको र सन् २०२२ मा यो संख्या बढेर ८ पुगेको छ । सोमेश्वर पर्वत माला र भारतको बाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अबस्था कस्तो रहन्छ भन्ने बिषयमा अध्ययनका लागि क्यामेरा ट्यापिङ् गरिएको हो । यसले संरक्षण सम्बन्धि योजना निर्माणका लागि सहयोग पुग्ने छ ।