चितवनः तराई समुदायका व्यक्तिहरुले मनाउदैं आएको छठ पर्वमा पछिल्ला वर्षहरुमा पहाडीया समुदायका व्यक्तिहरुले पनि मनाउन थालेका छन् । छठीमाईको पुजा गर्दा मनोकाङ्क्षा पुरा हुने भन्दै पहाडीया समुदायका व्यक्तिहरु पनि यस पर्वलाई मनाउन थालेका हुन ।
तराई सामुदायीक सेवा समितिले हरेक वर्ष नारायणी नदी किनारमा छठ पर्व मनाउँदै आएको छ । यहाँ पुजा गर्न आउनेको संख्या वर्षेनी वढ्दै गएको समितिका सल्लाहाकार राजकुमार गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो “तराई मुलका संगै पहाडीया समुदायका व्यक्तिहरुमा पनि छठ पर्वको महत्व वढ्दै गएको छ । अहिले ४५ प्रतिशत हाराहारी पहाडीया मुलका व्यक्तिहरुले यस पर्वमा पुजा गर्ने गरेका छन् ।” उहाँका अनुसार वि. सं. २०२२ साल तिर नारायणगढमा ६÷७ घरले मात्रै छठ पर्व मनाउने गरेकोमा अहिले यो संख्या वढेको हो । देवि देउता भन्दा पनि अदृश्य शक्तिको रुपमा सूर्य भगवानलाई लिएर पुजा गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “छठीमाईको पुजा गर्दा सन्तान नहुनेको सन्तान प्राप्ती र दिर्घरोग निको हुने विश्वासका साथ मनाइने गरिएको छ ।” छठ पर्व प्रति आस्था र बिश्वास बढ्दै गएको उहाँले बताउनुभयो ।
ब्रत वस्ने र प्रसाद ल्याएर छठीमातालाई चढाउनेको संख्या पहाडीया समुदायमा बढ्दै गएको छ । उहाँले भन्नुभयो “पहाडीया समुदायका व्यक्तिहरु तराई समुदायका व्यक्तिकोमा गएर यस पर्व मनाउने बिधि बारे वुझ्ने र मनाउने प्रचलन वढ्दै गएको छ ।” नदी किनारमा बसि बालुवाको स्तुप वनाउने भन्दा प्रसाद चढाउन आउने पहाडीया समुदाय धेरै रहेको उहाँले जानकारी दिनुभयो । यस वर्ष नारायणी नदी किनारमा २५÷३० हजार भक्तजनले छठीमाईको पुजा गर्ने अनुमान गरिएको छ । समितिले पुजा व्यवस्थापनका लागि नदीको वगरमा टेन्ट टाँगेर व्यवस्थित गरेको छ । ब्रत बस्ने भन्दा हेर्न आउनेहरुको संख्या निकै धेरै हुने उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १० की जुना पौडेल बिगत पाँच वर्ष देखि छठीमाईको पुजा गर्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “छठीमाईको बर्त बस्दा मनलाई शन्ति मिल्नुका साथै मनोकाङ्क्षा पुरा भए पछि हरेक वर्ष ब्रत बस्ने गरेकी छु ।” आँफु मात्रै नभई अन्य दिदि बहिनि पनि परिवारको श्रीबृद्धि र दिर्घायुको कामना गर्दै छठ पर्वको ब्रत वस्ने गरेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ की नविना चौलागाई ढकाल बिगत दुई वर्ष देखि छठ पर्वको ब्रत बस्न थाल्नु भएको छ । छठीमाईको विश्वास भएकाले आँफु ब्रत बस्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “छठीमाईको ब्रत वस्दा मनोकाङ्क्षा पुरा भएकाले यस प्रति विश्वास वढ्दै गएको छ ।” उहाँले छठ पर्वको ब्रत बिधिपूर्बक बस्ने गरेको बताउनुभयो । बिधि पूर्बक ब्रत बसेर आज अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य चढाउने, प्रसाद चढाउने गरेको उहाँले जानकारी दिनुभयो ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल भरि धुमधामका साथ मनाइँदैछ । छठ पर्व शहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाका प्रसिद्ध नदी तथा नहरको किनारमा अघ्र्य चढाउने गरिन्छ । छठ पर्व सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु बिश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस !