चितवनः दुर्लभ एक सिंगे गैंडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा तस्करले धरापमा पारेर मारेका छन् । दुवै गैंडा खाल्टोमा पारेर मारिएका हुन ।

बिगत लामो समय यता तस्करले खाल्टो खनेर गैंडा धरापमा पारेका थिएनन् । २० वर्ष भन्दा अघि यो बिधि प्रयोग गरेर गैंडा मार्ने गरिएको थियो । पछिल्ला वर्षहरुमा गोली हानेर, करेन्ट लगाएर गैंडा तस्करले मार्दे आएका थिए । निकुञ्ज भित्र खाल्टो खनेर धरापमा पारेर गैंडा मार्न थालेपछि निकुञ्ज सुरक्षा माथि प्रश्न चिन्ह समेत खडा हुन थालेको छ । खाल्टो खनेर धराप वनाउन समय लाग्ने भएकाले लामो समय तस्करले निकुञ्ज भित्र बिताएको यस घटनाले देखाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको पूर्बी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै दुईवटा खाल्टामा गैंडालाई धरापमा पारेर मारिएको हो । ६ र १८ वर्षका पोथि गैंडा मरेको अन्दाजी तीन र दश दिनमा फेला परेको निकुञ्जको अनुमान रहेको छ । तिवारीका अनुसार नजिकै अर्को खाडल पनि भेटिएको छ । पाँच सय मिटर वरपर हेर्दा थप खाल्डा भने भेटिएनन् । तस्करले खाल्टाको माटो केही पर लगेर फालेको देखिएको छ । कोदालो, गैंची जस्ता साधन प्रयोग गरेर खाल्टो खनिएको अनुमान गरिएको छ । खाग लगेर खुर छाडीएको छ ।

सोही क्षेत्रमा निकुञ्जले चाडपर्वको समयमा गस्ति वढाएको जनाएको थियो । तिवारीका अनुसार बिहिबार दुई मृत गैंडा भेटिदैं गर्दा सोही क्षेत्रमा ५२ औं दिन नियमित हात्तीको गस्ति थियो । दशवटा हात्तीमा निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका कर्मचारीले पूर्बी क्षेत्र गस्ति गरिरहँदा तस्करले खाल्टोमा पारेर गैंडा मारेका हुन । दशैं र तिहारको बिचको समय पारेर गैंडा मारिएको हो । यो बिधि प्रयोग गर्न समय लाग्ने तिवारी वताउनुहुन्छ । उहाँको भनाईमा तस्करहरुले गैंडाको बाटो पहिचान गरि खाल्टो खनेर अनुगमन गरेको देखिन्छ । गैंडा मरे पछि खाग काटेर लगेका हुन । यो लामो समय सम्म निकुञ्ज भित्र रहेर तस्करहरुले निर्धक्क संग गैंडा मारेको पाईएको छ । सो क्षेत्रमा रहेका गैंडा मध्ये १२ वटा बाढिले बगाए पछि भारतीय भूमिमा पुगेर उद्धार गरि ल्याईएका गैंडा हुन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन तस्करहरुले पुरानो बिधिलाई प्रयोग गरेको भन्दै सुरक्षामा चुनौति थपिएको बताउनुभयो । निकुञ्ज प्रशासनले यो घटना लगत्तै रणनैतिक हिसाबले अनुसन्धान थालेको उहाँको भनाई छ । तस्कर पक्राउ गर्ने दाबि गर्दै उहाँले तत्काल पुरै निकुञ्ज स्विप गरिने जानकारी दिनुभयो । निकुञ्जका सबै क्षेत्रमा पुग्ने गरी गस्ति वढाईने उहाँको भनाई छ । कतिपय यस्ता घटनाहरु थाहानै नहुने समेत भन्दै उहाँले घटना भएको तेस्रो दिन गस्ति टोली पुगेको पनि बताउनुभयो । निकुञ्ज भित्र यतिवेला बाक्लो झाडी रहेको छ । नजिकै पनि देख्न मुस्किल हुन्छ । निकुञ्ज गस्तिका क्रममा यस अघि पनि यस्ता खाल्टा देखिए पनि पुरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सुरक्षामा चुनौति थपिएको छ । हामीले यसलाई गम्भिर रुपमा लिएर रणनैतीक हिसाबले काम गछौ ।”

निकुञ्जका पूर्ब प्रमुख संरक्षण अधिकृत एबं हालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका उपमहानिर्देशक बेद कुमार ढकाल नयाँ चुनौीत थपिएको बताउनुहुन्छ । २०÷२५ वर्ष पहिले तस्करहरुले प्रयोग गरेको बिधि अहिले प्रयोग भएको भन्दै उहाँले खाल्टो खनुन्जेल संयन्त्रले थाहा नपाउनु दुखत भएको बताउनुभयो । बिभाग, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तत्काल छलफल गरेर छानबिन र अनुसन्धान कार्य सुस्म ढङ्गले अघि वढाउने बताउनुभयो । समग्र सबै क्षेत्रमा चुनौति देखिएको भन्दै उहाँले सुस्म रुपमा निकुञ्ज भित्र गस्ति गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “निकुञ्ज भित्र अरु पनि खाल्टा खनिएको र घटना भएको हुन सक्छ । सुस्म अध्ययन गर्नुपर्छ ।” समग्र संरक्षणका बिधि पद्धती, तौर तरिकाको समिक्षा गरिने बताउनुभयो । प्रबिधि प्रयोग गरिदैं आएको भन्दै उहाँले अझ बढाउनु पर्ने बताउनुभयो । उहाँले थप्नुभयो “बिभागले यो घटनालाई गम्भिर रुपमा लिएको छ ।” स्थानिय समुदायसंग सहकार्य बढाएर संरक्षणमा लाग्नु पर्ने उहाँको सुझाब रहेको छ ।

शशस्त्र द्धन्द्धको समयमा एकै वर्षमा ३८ वटा सम्म गैंडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरुमा वन्यजन्तु चोरी शिकारी निकै घटेर गएको थियो । कतिपय बर्षहरुमा निकुञ्जले शून्य चोरी शिकार वर्ष मनाएको थियो । गत वर्ष दुईवटा गैंडा शिकारीले मारेका थिए । तस्कर पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार ६९४ गैंडा रहेका छन् । नेपालमा ७ सय ५२ गैंडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !