चितवनः चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैंडा पुष्पा र अञ्जली कोशी टप्पु वन्यजन्तु आरक्षमा लगिने भएको छ । यही असोज १० गते गैंडा कोशी टप्पु पु¥याउन लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यका अनुसार कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैंडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैंडा लान लागिएको हो । विभागका तत्कालिन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो ।

कोशीमा अहिले गैंडा छैन । आचार्यले शुरुमा यहाँबाट लगिएका गैंडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने बताउनुभयो । कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्ट रहेको क्षेत्र नजिक गैंडा राखिंदै छ । प्रकृतिमा छाड्ने समयमा गैंडा थप गरेर छोडिने छ ।

केही वर्ष अघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याईएको थियो । तत्कालिन समयमा स्थानीयले चितवनबाट आरक्षमा गैंडा ल्याउनु पर्ने माग गरेका थिए । सोही अनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो । चितवनमा त्यहाँबाट ल्याईएका र चिडियाखानाबाट ल्याईएका थप दुई सहित १५ वटा अर्ना भने बच्न सकेनन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैंडा कोशी पठाउन लागिएको बताउनुभयो । ती दुवै पोथी गैंडा हुन् । ती गैंडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी २ र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरुलाई पुष्पा र अञ्जली नामाकरण गरिएको थियो ।

अहिले पुष्पा ३ वर्ष ९ महिना र अञ्जली २ वर्ष ६ महिनाका रहेका छन् । ती गैंडा अहिले पनि मानव वस्तीमा आएर दुःख दिने गरेका छन् । तिनै गैंडा पठाउन लागिएको पुनले बताउनुभयो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैंडा पठाउनका लागि सबै तयारी रहेको छ । पुरानो खोरलाई मर्मत गरी पठाईदै छ । पछिल्लो गणना अनुसार निकुञ्जमा ६९४ गैंडा रहेको तथ्यांक छ । पछिल्लो गणनाका क्रममा यी गैंडा उद्धार गरेर ल्याईएकाले तथ्यांकमा समावेश गरिएको छैन । पछिल्लो गणना अनुसार देशभर ७५२ गैंडा रहेका छन् । हाल पठाउन लागिएका गैंडा हुर्किएपछि थप भाले पठाएर प्रकृतिमा छोड्ने योजना बनाईएको छ ।

निकुञ्जबाट यस अघि बर्दिया र शुक्लाफाँटामा गैंडा पठाईएको थियो ।

प्रतिक्रिया दिनुहोस !