
चितवनः भरतपुर महानगरपालिकाले राजश्व संकलन कार्यलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकाहरुलाई समेत दायरामा ल्याउने गरी अभियानकै रुपमा काम अघि बढाएको हो ।
विगतका वर्षहरुमा न्यून राजस्व मात्रै संकलन भएकाले यस वर्ष लक्ष्यभन्दा बढी राजश्व संकलन गर्ने गरी गृहकार्य थालिएको हो । महानगरपालिकाको राजश्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र सबैलाई करको दायरामा आउन सार्वजनिक अपिल गरिएको छ । यससँगै राजश्वमा दर्ता भएका सबै करदाताकोमा करमा दर्ता भएको स्टिकर टाँसिने छ ।
महानगरपालिकाले पाँच शीर्षकमा फरक फरक स्टिकर तयार गरेको छ । व्यवसाय कर, घरवहाल कर, सम्पती कर, मनोरञ्जन कर र सेवा शुल्क दस्तुर गरी पाँचवटा रंगका स्टिकर टाँसिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “करदाताले जुन कर तिर्नुहुन्छ, उहाँहरुको फर्ममा सोही स्टिकर टाँस्ने छौं ।” सो पश्चात् टोलटोलसम्म पुगेर अनुगमन गरिने छ । अहिले नै वडा र टोल विकास समितिहरुलाई पत्राचार गरी करको दायरामा आउन सबैलाई आव्हान गर्न लगाईएको छ ।
महानगरपालिकाले कर संकलनका लागि टाक्सफोर्स समेत बनाउँदै छ । महानगरपालिकामा उच्चस्तरको टाक्सफोर्स बनाईदै छ भने यो वडा तहसम्म बनाईदै छ । यसले कर संकलनको काममा सहयोग गर्ने छ । सोही समिति मार्फत् अनुगमन काम समेत गरिने उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पहिलो चरणमा व्यापक प्रचारप्रसार गरेर व्यवसाय दर्ता गर्न आग्रह गरिने बताउनुभयो । उहाँले भन्नुभयो “महानगर क्षेत्रभित्र दर्ता नगरी व्यवसाय गर्न सम्भव छैन ।” उहाँले थप्नुभयो “कर तिरौं र विकास गरौं भन्ने अभियानका साथ हामी अघि बढेका छौं ।”
महानगरमा उठ्नु पर्ने करको २० प्रतिशत मात्रै उठेको भन्दै उहाँले यस वर्ष लक्ष्य लिएकोभन्दा बढी कर उठाईने बताउनुभयो । यस आर्थिक वर्षमा रु.१ अर्ब ७५ करोड राजश्व उठाउने लक्ष्य लिईएको छ । अधिकारीले चालु आर्थिक वर्षमा रु.२ अर्बभन्दा बढी राजश्व उठाउने योजनाका साथ अघि बढेको बताउनुभयो ।
गत आर्थिक वर्षमा रु. १ अर्ब २५ करोड हाराहारी मात्रै राजश्व संकलन भएको थियो । अधिकारीले भन्नुभयो “करै नतिरी व्यवसाय गर्छु भन्न भएन, अटेर गरेर दर्ता नगरेका व्यवसाय बन्द हुनेछन् ।” अहिलेको अवस्था राम्रो नभएकाले करको दर नबढाईने भन्दै उहाँले दायरा बढाएर कर संकलन गर्न लागिएको बताउनुभयो । महानगरले नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुसँग समन्वय गरेर कर संकलन अभियानलाई अघि बढाएको छ । महानगरमा कर नतिरेसम्म अन्य सुविधाबाट समेत बञ्चित हुने गरी योजना अघि सारिएको छ ।
महानगरपालिकाले यस आर्थिक वर्षमा हालसम्म रु.१२ करोड कर संकलन गरेको छ । अहिलेसम्म तिरेको कर स्वतःस्फूर्त र आवश्यक पर्नेहरुले मात्रै तिरेका हुन् । महानगरपालिकाले आइतबार दैनिक एक सय जनालाई मोबाईलमा म्यासेज पनि पठाउन थालेको छ । यससँगै सिनेमा हल, सञ्चार माध्यमहरु, माईकिङ लगायतका माध्यमबाट प्रचारप्रसार गरिरहेको छ ।
महानगर प्रमुख रेनु दाहालले यस आर्थिक वर्षमा कर संकलन कार्यलाई अभियानकै रुपमा अघि बढाईएको बताउनुभयो । विगतका वर्षहरुमा लक्ष्य अनुसार कर संकलन नभएको भन्दै उहाँले यस आर्थिक वर्षमा लक्ष्यभन्दा बढी कर उठाईने बताउनुभयो । महानगरभित्रका सबै टोल सुधार संस्थाहरुलाई कर संकलन अभियानमा सहभागी गराईएको उहाँको भनाई छ ।
महानगरमा संकलित करको २ प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय गरिसकिएको छ । महानगरभित्र ७४४ वटा टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर संकलनलाई अभियानको रुपमा अघि बढाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “महानगरवासीले तिर्ने करको रकम बढाईएको छैन, दायरा फराकिलो बनाएर सबैलाई करको दायरामा ल्याउन लागिएको हो ।”
महानगरले तोके अनुसार कर तिर्नु महानगरवासीको कर्तव्य भएको भन्दै उहाँले संकलन भएको राजश्व यहीको विकास निर्माणमा खर्च हुने भएकाले स्वतःस्फूर्त रुपमा कर तिर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । विगतका वर्षहरुमा घरवहाल कर आन्तरिक राजश्व कार्यालयमा बुझाउँदै आएकोमा गत वर्षबाट यो कर स्थानीय तहमा जम्मा गर्ने व्यवस्था गरिएको छ । वडा कार्यालयहरु मार्फत टोलटोलमा प्रचार अभियान अघि बढाईएकाले सबै करको दायरामा आउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले विज्ञहरुको सहभागितामा कर सम्बन्धी छलफल सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले थप्नुभयो “महानगरवासीलाई कर संकलन अभियानमा जुट्न अपिल गर्दछु ।”