चितवनः उद्योग संघ चितवनको आयोजना र नेपाली जुत्ता घरको सहकार्यमा पर्व बिशेष मेला २०८० हुने भएको छ । उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा यही असोज ३ गते देखि कार्तिक २ गते सम्म मेलाको आयोजना गर्न लागिएको हो ।
एक महिना सम्म सञ्चालन हुने मेलामा जुत्ता चप्पल, खाध्यन्न, लत्ताकपडा, खसी, बोका लगाएतका उपभोग्य वस्तुहरु पाईने आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले सुरुवाती ३ हप्ता जुत्ता चप्पल मेला हुने र पछिल्लो एक हप्ता खाध्ययन्न, लत्ताकपडा, खसी, बोका राखिने जानकारी दिनुभयो । यसका लागि बिभिन्न उद्योगहरु संग छलफल भईरहेको उहाँले जानकारी दिनुभयो ।
उत्पादक तथा उपभोक्ता र सरोकारवालाहरु वीच प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको वजारिकरणको प्रबद्र्धन हुने विश्वास लिईएको उहाँले जानकारी दिनुभयो १३ वटा जुत्ता कम्पनीहरुले स्टल राख्ने छन् । मेलामा २ लाख स्वदेशी तथा बिदेशी ग्राहकहरुले अवलोकन गर्ने र रु १० करोडको कारोवार हुने अनुमान गरिएको छ । स्वदेशी उत्पादन वारे आम उपभोक्तालाई स्थलगत अवलोकन गराई स्वदेशी उत्पादनको उपभोगका लागि प्रोत्साहन गर्नु मुख्य उद्धेश्य रहेको उहाँले जानकारी दिनुभयो । मेलामा नेपाली उद्योग बाहेक अन्य उद्योगको उत्पादन बिक्रि बितरण गर्न नपाईने र सबैको मूल्य सूची टाँस गरिने उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नयनराज घिमिरेले नेपालको अर्थतन्त्रलाई चलायमान वनाउने मेलाको आयोजना गर्न लागिएको बताउनुभयो । नेपाली उत्पादनका लागि अहिले मुख्य चुनौती न्यून बिजिकरण रहेको उहाँको भनाई थियो । नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले अहिले नेपालमा बार्षिक १० करोड जुत्ताको माग भईरहेको जानकारी दिनुभयो । अहिले नेपालका उद्योगहरुले १६ करोड जुत्ता उत्पादन गर्ने क्षमता भए पनि ६२ प्रतिशत मात्र उत्पादन हुँदै आएको उहाँले बताउनुभो । उहाँका अनुसार बार्षिक २ करोड जोर भन्दा बढि जुत्ता बिदेशबाट नेपाल आउने गरेको छ । नेपालमा आत्मनिर्भर व्यवसाय भए पनि दक्ष कामदार पाउन नसक्दा समस्या भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !