चितवनः नारायणगढ बजार नजिकै नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलको उत्तरतर्फ (माथिल्लो भागमा) बनाईने भएको छ । पूर्व पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो ।
सडक विभागका पुल महाशाखाले नक्सांकन सहित पुल निर्माणका लागि टुण्डी कन्स्ट्रक्सन प्रा.लि.सँग सम्झौता गरिसकेको छ । महाशाखाका सिनियर डिभिजनल ईञ्जिनियर कृष्ण अधिकारीका अनुसार जेठ १९ गते ४८ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।
पुल अहिले भईरहेको पुलको माथिल्लो अर्थात् उत्तरतर्फ बनाईदै छ । निर्माण कम्पनीले पहिलो एक वर्षमा नक्सांकनको काम सम्पन्न गर्नुपर्ने हुन्छ । हाल प्रारम्भिक नक्साको काम कम्पनीले गरिरहेको उहाँले जानकारी दिनुभयो । तीन चार प्रकारका नक्सा तयार गरेर प्रस्तुतीकरणका लागि बोलाईएको उहाँले बताउनुभयो । केही दिनभित्रमै प्रारम्भिक नक्साहरुको प्रस्तुतीकरण भएपछि थप घट गरी अन्तिम नक्सा बनाउनका लागि निर्माण कम्पनीलाई भनिने छ ।
यससँगै कम्पनीले नक्साको काम सम्पन्न गरेपछि निर्माण थालिने छ । यो पुल कम्तीमा चार सय २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । निर्माण कम्पनीले नक्सांकनका क्रममा केही लामो बनाउन सक्ने भएपनि न्यूनतम मापदण्ड भने पूरा गर्नुपर्ने छ । चौडाईमा एकातर्फ तीन मिटरको फुटपाथ राखिने छ । हाल रहेको पुलमा दुवै तर्फ फुटपाथ छ भने अब बन्ने पुलमा एकातर्फ मात्रै फुटपाथ हुनेछ ।
पुलको डिजाईन यस्तो हुने भन्ने लागिनसकेको भएपनि केवल, आर्च लगायतका कुनै एक डिजाईन सुन्दर पुल बनाईने बताईएको छ । आउँदा दिनहरुमा नदीमा पानीजहाज, ठूला स्टिमर सञ्चालन गर्नुपर्ने भएकाले पिल्लरको संख्या घटाएर नक्सांकन गर्न लागिएको उहाँको भनाई छ ।पूर्वपश्चिम राजमार्ग ५० मिटर फराकिलो भएकाले नयाँ पुल बन्दै गर्दा निजी जमिन अतिक्रमण गर्नु नपर्ने देखिएको छ ।
हाल रहेको नारायणी नदीको पुल बि.सं. २०३८ सालमा बनेको हो । यसको आयु ७० वर्ष रहेको जनाईएको छ । नेपालको पश्चिम क्षेत्र जाने र आउने मुख्य सडकमा यो पुल रहेकाले यसमा सवारीको उच्च चाप रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !