भदौः जिल्ला प्रशासन कार्यालय चितवनमा परेका मिटरव्याजीहरुको निवेदन मध्ये रु ६६ लाख १४ हजार ८५० बराबरको उजुरीमा मिलापत्र भएको छ । कार्यालयमा हालसम्म परेका ८४ उजुरी मध्ये १३ वटा उजुरीमा मिलापत्र भएको हो ।
कार्यालयका नायब सुव्वा बिश्वास श्रेष्ठका अनुसार जिल्लामा दर्ता भएका अनुचित लेदनदेन (मिटर व्याज)का निवेदन १३ वटा निवेदनमा पीडित पक्ष र पीडक पक्ष दुबैको छलफल गरी मिलापत्र गरिएको हो । छलफलका क्रममा कतिपय निबेदनमा सावा मात्रै लिने, कतिपयमा चलन चल्तिको दरमा व्याज लिने सहमति भएको छ । उहाँका अनुसार दुबै पक्षको सहमतीमा मिलापत्र भएको हो ।
यही अबधिमा एक जना पीडितले २ कठ्ठा जग्गा फिर्ता पाएका छन् । अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगले निवेदन आव्हान गरेको समयमा जिल्लामा ६० वटा उजुरी परेका थिए । वि. सं. २०८० साल जेठ १४ सम्म ती उजुरी परेका हुन् । जेठ १४ गते पछि भदौ २७ गतेसम्म २४ वटा उजुरी दर्ता भएको उहाँले जानकारी दिनुभयो । ती उजुरी मध्ये ३२ जना पीडकले आफ्नो व्यहोरा खुलाएर निवेदन समेत दिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार पीडितका तर्फबाट परेका उजुरी मध्ये अधिकांश जग्गाको कारोवारका रहेका छन् । पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उहाँले बताउनुभयो । अधिकांशले जग्गा फिर्ता गरिपाउँ भनि निवेदन दिएका छन् ।
परेका उजुरी मध्ये ७१ वटा उजुरीमाथि छलफल भईरहेको कार्यालयका सूचना अधिकारी आनन्दबंश न्यौपानेले जानकारी दिनुभयो । छलफलका क्रममा रहेका उजुरीहरुमा समेत सहमतीको प्रयास भईरहेको उहाँले बताउनुभयो ।
यस अघि गृह मन्त्रालयले वि. सं. २०७९ साल साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरव्याजी बिरुद्ध उजुरी आव्हान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए । जस मध्ये एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ भने अन्य २४ वटा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस !