
चितवनः ऐतिहाँसीक महत्व वोकेको यहाँको दियालो बंगला क्षेत्र भरतपुर भ्रमण वर्षमा खुल्ला गर्न आग्रह गरिएको छ । भरतपुर महानगरपालिकाले सन २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउन लागेको छ ।
महानगरपालिकाले नेपाल ट्रष्टको कार्यालयलाई पत्र लेखेर भ्रमण वर्षमा पर्यटकका लागि खुल्ला गरिदिन आग्रह गरेको हो । महानगर प्रमुख रेनु दाहालले ट्रष्टको कार्यालयलाई पत्राचार गरिएको बताउँदै मौखिक रुपमा भएका कुराकानी सकारात्मक रहेको बताउनुभयो । ट्रष्टका कार्यकारी सचिब संग यस विषयमा कुराकानी भैरहेको उहाँले बताउनुभयो । नेपाल ट्रष्टको कार्यालय प्रधानमन्त्री कार्यालय अन्तर्गत पर्दछ ।
दाहालले ट्रष्ट स्वयमले वा सञ्चालनका लागि महानगरपालिकालाई दिएर जुन बिधिबाट सञ्चालन गर्दा पनि हुने बताउनुभयो । उहाँले भन्नुभयो “भ्रमण वर्षमा दियालो वंगला भित्रको दरवार क्षेत्र पर्यटकका लागि खुल्ला हुने कुरामा म विश्वस्त छु ।” भरतपुर महानगरपालिका भित्र स्वदेशी र बिदेशी पर्यटक भित्र्याउने गरी महानगरपालिकाले गतिबिधि अघि वढाएको छ । नेपाल ट्रष्टको कार्यालयका सह–सचिब एबं प्रबक्ता दिपकराज नेपालले महानगरपालिकाको पत्र प्राप्त भए संगै छलफल अघि वढेको बताउनुभयो । दरवार निकै पुरानो भएकाले एकैसाथ धेरै मानिस प्रबेश गर्दा जोखिमको अबस्था अध्ययन गरेर खुल्ला गर्न ट्रष्टको कार्यालय सकारात्मक रहेको उहाँले बताउनुभयो । कार्यालयले यस आर्थिक वर्षमा दरवारलाई रेट्रोफिटिङ्का लागि बजेट समेत बिनियोजन गरीसकेको छ ।
प्राबिधिक अध्ययन गरी सञ्चालन गर्न सकीने उहाँले बताउनुभयो । कुन ढाँचामा सञ्चालन गर्ने भन्ने बिषयमा छलफल भई नसकेको उहाँले जानकारी दिनुभयो । वषौं देखि नेपाली सेनाको सुरक्षामा दियालो वंगला क्षेत्र रहेको छ । हाल नेपाली सेनाको विपद व्यवस्थापन गण रसौलीको गुल्मले दरवार क्षेत्रलाई सुरक्षा दिएको छ ।
दियालो वंगला क्षेत्र देवघाट प्रवेशद्धारमा रहेको छ । ऐतिहाँसिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोग बिहिन भएकाले ओझेलमा परेको छ । सुरक्षार्थ सेना र नेपाल ट्रष्टका पाँचजना कार्यालय सहयोगी बाहेक अरु दरवार परिसरमा छिर्न पाउँदैनन् ।
वि.सं. २०२६ मा निर्माण भएको सो बंगला राजा र राजपरिवारका सदस्यले काठमाडौँको कोलाहाल छल्न आउने मुख्य गन्तव्य बनेको थियो । वि. सं. २०४६ सालबाट कार्यालय सहयोगीको रुपमा काम गर्दै आउनु भएका देवि वहादुर कार्की राजपरिवारको रमाउने ठाउँ दियालो बंगला रहेको बताउँनुहुन्छ ।
तत्कालिन समयमा राजा आइरहने भएकाले दियालो बंगला झकिझकाउ हुने गथ्र्याे । राजा आएको बेला एक महिना बराबरको तलब बक्सिस हुने भएकाले पनि कर्मचारी फुरुङ्ग हुने गर्दथे । त्यसो त राजा महेन्द्रको निधन पनि यही दरबारमा भएकाले र यससँगै पवित्र तीर्थस्थल देवघाटको मुख्य प्रवेशद्वार भएकाले पनि यो दरबारको महत्व धेरै छ ।
पूर्व राजपरिवारको सम्पत्तिको संरक्षण नेपाल ट्रष्टले गरिरहेको छ । उक्त ट्रष्टको इकाइ कार्यालय दियालो बंगलामा कार्यरत कार्कीका अनुसार अहिले पाँच जना कार्यालय सहयोगी मात्र त्यहाँ रहेका छन् । पहिले पहिले शाखा अधिकृत हुने भए पनि पछिल्लो समयमा इकाइको नेतृत्व खरदार पदका कर्मचारीले गर्दै आएका थिए । वैशाख २५ गते पछि भने कार्यालय सहयोगी कार्कीकै नेतृत्वमा इकाई चल्दै आएको छ ।
कर्मचारीले दरबारको संरक्षण र सरसफाइको काम गरिरहेका छन् । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्व राजारानी महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भ¥याङमा वि. सं. २०२६ सालमा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।
दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । कार्कीका अनुसार १ नं– खोपी मुमा रत्नराज्यको हो भने २ नं–राजा र ३ नं–रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको ईकाई चलेको छ ।
सो क्षेत्रमा धमिराको गोला, कमिला जस्ता कुनै पनि किराले त्यहाँका सामग्री बिगार्न नसक्ने कर्मचारी बताउँछन् । भवन निर्माण गर्दा नै दीर्घकालीन सुरक्षाका विधि अपनाएका कारण यस्तो भएको उनीहरूको भनाइ छ ।
ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । ५७ बिघा १३ कठ्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबारक्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरमा रहेको बगैंँचा अहिले पनि जस्ताको जस्तै छ । त्यहाँ जोकोहीलाई दरबारभित्र राजा नै भएको भानहुन्छ ।
इकाईमानै कार्यरत अर्का कार्यालय सहयोगी दान वहादुर ढकालका अनुसार राजपरिवार हुँदा दरवारको महत्वनै फरक खालको थियो । जाडो महिनामा राजपरिवारले यही दरवारमा धेरै समय बिताउने गरेको बिगत रहेको उहाँले जानकारी दिनुभयो । दरवार क्षेत्रलाई बिगतको जस्तै रहने गरी सरसफाई र सुरक्षामा ध्यान दिईएको छ । जिल्ला बासिलाई समेत यो ठाउँ नौलो रहेको छ । न्यून व्यक्ति वाहेक हाल सम्म अन्यले प्रबेश गर्ने अबसर पाएका छैनन् । भ्रमण वर्षमा प्रबेश खुल्ला भएमा सबैका लागि नयाँ गन्तव्य दियालो वंगलाको दरवार बन्ने छ ।