
चितवनः रोजगारीमा लागेपछि त्यसमा राम्रो काम देखाउने, पदोन्नती हुने, राम्रो सेवा सुविधा पाउने उद्देश्य धेरैको हुन्छ । जुन क्षेत्रको रोजगारीमा प्रवेश गरेको हो, त्यस्तै उद्योग सञ्चालन गर्ने भन्ने कल्पना कमैले मात्रै गरेका हुन्छन् । यहाँका एक युवाले आयुर्वेद औषधिको बजारीकरण (मार्केटिङ) को काम गर्दागर्दै आफै उद्योगी बन्नु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर निवासी चक्रपाणी न्यौपाने त्यस्तै मध्येको एक हुनुहुन्छ । उहाँले केही समय आयुर्वेदको बजारीकरणमा काम गरेपछि आफै उद्योग सञ्चालन गर्नुभएको छ ।
बि.सं. २०३७ सालमा स्याङजाको मिर्मिमा जन्मिनु भएका न्यौपानेको परिवार बि.सं. २०४२ सालमा चितवनको गीतानगर झ¥यो । स्थानीय कलेजबाट स्नातकसम्मको अध्ययन गरेपछि उहाँ एशियन हर्वल उद्योगको बजारीकरणमा रोजगार गर्नुभयो । २५ वर्षको उमेरमा जागिर प्रवेश गर्नुभएको उहाँमा चार वर्ष बजारीकरणमा काम गरेपछि आफै उद्योग सञ्चालन गर्ने सोच आयो ।
आफन्त, दाजुभाई, बैंक ऋण सहित रु. २० लाख हाराहारी लगानीमा उहाँले भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुरमा आयुर्वेदिक उद्योग शुरु गर्नुभयो । विस्तारै उद्योगको उत्पादनको खपत हुन थालेपछि उद्योग विस्तार गर्ने सोच पालायो । उहाँले गीतानगरमा रहेको आफ्नै पैत्रिक जग्गामा घर टहरा निर्माण गरेर उद्योग सार्नुभयो । नारायणगढमा वैदिक आयुर्वेद सेवा प्रा.लि. सञ्चालन गर्दैै आउनु न्यौपानेले व्यवस्थापनमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । उहाँले काम गर्दै जाँदा आयुर्वेदतर्फ वैद्यसम्मको अध्ययन समेत गर्नुभयो ।
उहाँले भन्नुभयो “आयुर्वेदको भविष्य छ, सेवा गर्न पाईने, बिरामीलाई उपचार गरेर निको बनाउन पाईने, दुखी मानिसलाई सुखी जीवन बनाउन पाईने देखेर नै यसतर्फ लागेको हुँ ।” उहाँले अगाडि थप्नुभयो “खानाका लागि जे काम गरे पनि हुन्छ, तर यो व्यवसाय गर्दा अर्काको कल्याण पनि हुने देखेर यसतर्फ लागेँ ।”उत्पादन र बजारीकरणमा आफै गर्दै आउनु भएका न्यौपानेको उद्योग सञ्चालन गरेको १२ वर्ष बितेको छ । रु. २० लाख हाराहारीमा शुरु गरेको उद्योगमा अहिले रु. ५ करोडभन्दा बढी लगानी पुगेको छ ।
उहाँले शुरुवाती चरणमा जडिबुटी ल्याएर पाउडर बनाएर उद्योग शुरु गर्नुभयो । शुरुवाती चरणमा सात वटा उत्पादन हुने उहाँको उद्योगबाट अहिले ५० थरिका औषधि उत्पादन हुन्छन् । उहाँले भन्नुभयो “शुरुवाती चरणमा खर्च मात्रै चल्ने गरी कारोवार हुन्थ्यो ।” विस्तारै उत्पादन बढाउँदै लगेको बताउँदै उहाँले भन्नुभयो “शुरुमा चितवन मात्रै बजार थियो, अहिले चितवन सहित काठमाण्डौं, बुटवल, ईटहरी लगायतका नेपालका आधाभन्दा धेरै जिल्लामा उत्पादन पुगेको छ ।” अहिले व्यवसायबाट सन्तुष्ट हुने गरी कारोवार भईरहेको उहाँले बताउनुभयो ।
उद्योगमा चाहिने ९० प्रतिशत कच्चा पदार्थ (जडिबुटी) नेपालकै प्रयोग हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “यहाँ उद्योग खोलेर बाहिरबाट पूरै कच्चा पदार्थ ल्याउनु भएको प्याकिङ उद्योग मात्रै हो, वास्तविक उद्योग होइन ।”वैदिक आयुर्वेद सेवा प्रा.लि.का काठमाण्डौं, बुटवल र ईटहरीमा शाखा छन् । ती सबै शाखामा आयुर्वेदिक चिकित्सक राखेर बिरामीको सेवा गर्दै आएको न्यौपानेको भनाई छ । उहाँले थप्नुभयो “हाम्रो क्लिनिकमा आउने अधिकांश बिरामीलाई आफ्नै उत्पादनको औषधि दिन्छौं ।”
अर्काकोमा काम गरेर सामान्य हातमुख जोर्न पुगेको विगत सम्झँदै उहाँले भन्नुभयो “अहिले आर्थिकभन्दा पनि अरुलाई खुशियाली दिन सकेको छु । ‘यस्तो रोग थियो, म ठीक भएँ’ भनेर आउँदा मलाई खुशी लाग्छ ।”
२० जनाभन्दा बढीलाई रोजगारी दिनुभएका न्यौपानेले भन्नुभयो “कति कमाएँ भन्ने गौण विषय हो, धेरैको चुल्हो बाल्ने सक्ने बनाउन सकेँ, त्यसैमा आनन्द लाग्छ ।” एलोपेथी उपचार गर्दागर्दा जीवनबाटै निरास भएकाहरु समेत आफूकहाँ आएर निको भएको उहाँको दावी छ ।
आयुर्वेद उद्योगको नेपालमा प्रचुर सम्भावना रहेको भन्दै नेपालका सबै ठाउँमा जुडिबुटी पाईने उहाँ जानकारी दिनुभयो ।