
नारायणगढः चितवनमा आजबाट ‘सफ्ट टेक चितवन २०८०’ सुरु भएको छ । उद्योग वाणिज्य संघ चितवन र कम्प्युटर एशोसिएशन अफ नेपाल जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा उद्योग वाणिज्य संघ चितवनको परिसरमा सफ्ट टेक मेला सुरु भएको हो ।
चितवनलाई आइटी हवका रुपमा बिकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले राजधानी बाहिर देशमै पहिलोपटक चितवनमा आयोजना भएको यस प्रकारको मेलाले चितवनलाई सफ्टवयेर तथा आइटीको क्षेत्रमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो “चितवनलाई कृषि, पर्यटन, स्वास्थ्य र पोल्ट्रीको हब भनेका छौं अब आइटीको पनि हब बनाउन यस्ता खालको मेलाले सहयो पुग्नेछ ।” उहाँले जुनसुकै विषयलाई अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि आइटी क्षेत्रको प्रमुख भुमिका रहने बताउनुभयो । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मनाउँदै गर्दा आइटीको माद्यामबाट यहाँको सम्पूर्ण जानकारी गराई भ्रमण वर्ष सफल पार्न सबैको साथ र सहयोग हुनुपर्ने उहाँको भनाई थियो ।
त्यस अवसरमा उद्योग वाणिज्य संघ चितवनमा अध्यक्ष चुननारायण श्रेष्ठले सफ्ट टेक मेला चितवनमा पहिलो पटक गर्न लागिएको र यस्ता महत्वपूर्ण मेलालाई हरेक वर्ष निरन्तरता दिन कसरी सकिन्छ भन्ने तर्फ आफुहरु लागेको बताउनुभयो । उहाँले चितवन सबै कुराको केन्द्र भएजस्तै सफ्वेयरको क्षेत्रमा पनि केन्द्रनै हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघका अध्यक्ष रञ्जित कुमार पोदारले देशले आइटीको निर्यातलाई अझ बिस्तृत रुपबाट गर्नुपर्ने बताउनुभयो । अब देशलाई आइटी प्रधान देश बनाउन आवश्यक रहेको र आइटीलाई माथी राखेर जुनसुकै विकास गर्दा सफल भइने उहाँको आशय थियो ।
‘चितवनको समृद्धि सूचना प्रविधि’ भन्ने मूलनाराका साथ आयोजना भएको मेलामा आईटिसम्बन्धी काम गर्दै आएका विभिन्न कम्पनी, कलेज तथा विभिन्न निकायहरुको सहभागीता रहेको छ । मेला आगामी तीन दिनसम्म चल्नेछ ।