चितवनः जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको स्थानीय सरकार र सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले गुनासै गुनासा गरेका छन् । पशुमा देखिएको लम्पि स्किन रोग, रगतको अभाव, खेलकुदमा देखिएको समस्या र बेसाहारा मानवमुक्त सडकका बिषयमा आयोजना गरिएको अन्तरक्रियामा सहभागी सबैले स्थानीय निकायबाट सहयोग नभएको गुनासो गरेका हुन ।
समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले आफ्नो वरीपरी जिल्लाका पालिकाहरुका प्रमुख र उपप्रमुख संगै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु राखेर आफ्ना गुनासा राख्न सरोकारवालाहरुलाइृ आग्रह गर्नुभएको थियो । सो क्रममा नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति हरि पौडेल र क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले रगत पु¥याउन मुस्किल परेको भन्दै पालिका प्रमुख र उपप्रमुखहरुसंग गुनासो गर्नुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष उत्तम गुरुङ, सचिब रामजी ढकाल लगाएतका खेलकुदसंग सम्बन्धित बिभिन्न व्यक्तिहरुले जिल्लामा खेलकुदमा देखिएका समस्याका बारेमा गुनासो गर्नुभएको थियो । लम्पि स्किन नामको पशुमा लाग्ने रोगले जिल्लामा ८० गाईभैसी मरेको भन्दै भ्याक्सिनका लागि पहल गरिदिन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख शुशिल क्षेत्रीले आग्रह गर्नुभयो । सोही अबसरमा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले केही पालिकाले आंशिक बाहेक अन्य पालिकाहरुले बेवारीसे मानब मुक्त सहर वनाउन सहयोग नगरेको गुनासो गर्नुभयो ।
सरोकारवालाहरुको गुनासोको जवाफ भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारी, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, कालिका नगरपालिका प्रमुख बिनोद रेग्मी र खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले दिनुभएको थियो । सो अवसरमा उहाँहरुले आउँदा दिनमा सरोकारवालाहरुले उठाएका बिषयलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले सबैको जवाफ सुने पछि पालिका प्रमुखहरुलाई नागरिक सरोकारका बिषयमा गम्भिर हुन ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “तपाईहरु सबैले आ–आफ्नो जिम्मेवारी बोध गर्नुहुन्छ भन्ने बिश्वास छ ।”

प्रतिक्रिया दिनुहोस !