चितवनः पश्चिम चितवनको मेघौलीको उच्च भाग बिगत ३ वर्ष अघि सम्म मरभूमि जस्तै थियो । दिउँसोमा यहाँका बारीहरुमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानु पथ्र्यो भने कित वर्खानै कुर्नु पर्ने हुन्थ्यो । वर्षमा दुई खेती तोरी र तील मात्रै लगाएर गुजारा गर्दै आएका भरतपुर महानगरपालिका वडा नम्बर २७ बुद्धनगरका किसानहरु अहिले डिप ट्युवेलबाट सिचाई सुरु भए संगै निकै उत्साहीत भएका छन् ।

आर्थिक वर्ष २०७७–०७८ बाट जिल्लामा सञ्चालन गरिएको चितवन भूमिगत संयोजनात्मक सिचाई आयोजनाले काम गर्न थाले पछि भने यहाँका किसान हर्शित वनेका हुन् । सिचाईको समस्या भए पछि आयोजनालाई त्यहाँ सम्म पुरयाउने काम भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गनुभएको हो ।

डिप ट्युवेल जडान संगै जनतामा खुशीयाली छाएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ बुद्धनगरको नमुना कृषि तथा सिचाई उपभोक्ता समितिका अध्यक्ष टिकाराम अधिकारी आँफु वि. सं. २०२२ साल देखि बसोबास गर्दै आएको भए पनि सिचाईको समस्या समाधानका लागि यस अघि खासै कसैले ध्यान नदिएको बताउनुहुन्छ । उहाँले विगत सम्झदै भन्नुभयो “बोरिङ्गबाट पानी आउँदा हाम्रो आँखाबाट हर्षका आँसु झरेका थिए । अहिले हामी बाह्रै महिना सिचाईको व्यवस्था भए संगै बिभिन्न बालिहरु लगाउँदै आएका छौ ।”

तीन वर्ष पहिला तोरी र तिल मात्रै खेती हुने भए पनि अहिले मौसम अनुसारको खेती र नगदे बालि तर्फ यहाँका कृषक केन्द्रित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले यस क्षेत्रमा सबै ठाउँमा सिचाईको व्यवस्था छ । पहलिा छाक टार्न समस्या हुने गरेको भए पनि अहिले एक सिजनमा मात्रै रु १ लाख सम्म कमाई हुने गरेको छ ।”

अहिले सबैको बारीमा तरकारी र मकै देख्न सकिन्छ । स्थानीय गौरीमायाँ पौडेलले पहिले एक बिगाह क्षेत्रफलमा काम गर्दा छाक टार्न समेत कठिन हुने गरेको बताउँदै अहिले भने त्यस्तो समस्या नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “सिचाईको व्यवस्था भए संगै हामीलाई त्यस्तो समस्या छैन ।” उहाँका अनुसार यस क्षेत्रका किसानहरु विगौ विगाह क्षेत्रफल भाडामा लिएर खेती गर्द थालेका छन् । स्थानीय धर्मपुर डिप ट्युवेल उपभोक्ता समितिका अध्यक्ष हर्क वहादुर क्षेत्री अहिलेको सिजनमा मकै र घाँस वेचेर मात्रै करिब रु १ लाख हाराहारी कमाई भएको बताउनुहुन्छ । उहाँले पहिले खेती किसानीबाट घर चलउन नसके पछि मेला मजदुरी गरेर घर छाक टार्ने गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो “सिचाईको व्यवस्था भए संगै अब मैले पहिलाको काम छोडेर कृषि कर्ममा लागेको छु ।” यस क्षेत्रमा बिदेशबाट फर्केकाहरुले जग्गा भाडामा लिएर तरकारी र अन्य खेती गर्न थालेको उहाँले बताउनुभयो ।

सिचाईको अभाव र अशिक्षाका कारणाले समेत वैदेशीक यात्रामा जानुभएका नेत्र प्रसाद भूषाल अहिले बिहान देखि वेलुका सम्म तरकारी बारिमानै तल्लीन हुनुहुन्छ । उहाँ स्वदेश फर्कनु भएको ४ वर्ष भयो । यहाँ सिचाईको व्यवस्था भए पछि उहाँ पुनः बिदेश जाने मनलाई परिवर्तन गर्दै जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । उहाँका अनुसार यो क्षेत्र पहिला मरुभूमि जस्तै हो । अहिले सिचाईको व्यवस्था भए संगै हराभरा भएको छ । उहाँले भन्नुभयो “अब विदेश जाने सोच परिवर्तन भै सक्यो । यही केही गर्ने हो ।”

यस क्षेत्रमा किसान बर्षातमा पर्ने आकाशे पानीको भरमा खेती गर्नुपर्दा पर्याप्त पानीको अभावमा दुःख पाएका थिए । सिचाईका लागि प्रयाप्त पानी नहुँदा गाई बाख्रा, कुखुरा पालेर जीविको पार्जन गर्दै आएको टेलिटावर वोरीङ्का अध्यक्ष बलवहादुर गुरुङ्को भनाई छ । आँफुहरुले वि.सं. २०५७ सालमा राप्ती नदीबाट पानी ल्याउनका लागि प्रयास गरेको भए पनि त्यो असफल भए पछि यस क्षेत्र आकासे पानीको भरमा मात्रै सिचाई गर्नु परेको उहाँ बताउनुहुन्छ । राप्ती नदीबाट इनार खेर लिफ्टिङ्बाट पानी ल्याउने प्रयत्न गरे पनि पछि इनार बर्षातको समयमा पुरीएर त्यो योजना असफल भएको उहाँले बताउनुभयो । त्यस पछि यहाँका जनता सधै तोरी र तिलको भरमा बस्नु पर्ने बाध्यता रहेको भए पनि अब भने त्यो समस्या नरहेको उहाँको भनाई छ । त्यस क्षेत्रमा मात्र ८ वटा डिप ट्युवेल जडान गरीएको छ । एउटा टेयुवेलले ३५ विगाहा क्षेत्रमा सिन्चीत गर्दछ ।

महानगर प्रमुख दाहाल सो क्षेत्र सुख्खा ग्रस्त भए पछि सिचाईको व्यवस्था गरिएको बताउनुहुन्छ । सिचाई भए संगै स्थानीय कृषि कर्ममा लागेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “पहिलो कार्यकालमा हामीले सुरु गरेका योजनाले प्रतिफल दिन थालेका छन् । ” महानगर पालिका भित्रका कृषकलाई जहाँ जे आबश्यकता छ त्यही अनुसार काम गरिएको उहाँले बताउनुभयो । महानगर भित्र कृषि क्षेत्रमा महत्वपूण कामहरु भएका छन् ।

चितवन भूमिगत संयोजनात्मक सिचाई आयोजनाले जिल्लाका ३ हजार २ सय ६० विगाह क्षेत्रफलमा सिचाई पु¥याएको छ । चितवन र मकवानपुर क्षेत्रमा गरी यस कार्यालयले हाल सम्म ३ हजार ६१० विगाहा क्षेत्रफलमा सिचाईको व्यवस्था गरेको कार्यालयका संयोजक देव कुमार स्याङ्वोले जानकारी दिनुभयो । चितवनको ६ वटा पालिका र मकवानपुरका ३ पालिकामा अहिले कार्यक्रम लागु भईरहेको छ । यस क्रममा चितवनमा ३६० स्थानमा स्यालो ट्युवेल र ५२ वटा डिप ट्युवेल स्थापना गरी सञ्चालनमा ल्याईएको उहाँले वताउनुभयो । मकवानपुरमा १० वटा डिप ट्यूवेल सञ्चालनमा ल्याईएको छ । यस आयोजना १० हजार ५ सय हेक्टर क्षेत्रफल सिचाई गर्ने योजनाका साथ स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस !