चितवनः चितवन भूमिगत संयोजनात्मक सिचाई आयोजनाले जिल्लाका ३ हजार २ सय ६० विगाह क्षेत्रफलमा सिचाई पु¥याएको छ । जिल्लामा सिचाईको अभावका कारण बाँझो रहेका जमिनहरुलाई लक्षित गर्दै सिचाईका कार्यक्रमहरु लागु भएको तीन वर्ष पुरा हुन लाग्दा सो क्षेत्रफलमा सिचाईको व्यवस्था गरेको हो । आर्थिक वर्ष २०७७÷०७८ मा स्थापना भएको यस आयोजनाले पाँच वर्ष सम्म काम गर्ने छ ।
चितवन र मकवानपुर क्षेत्रमा गरी यस कार्यालयले हाल सम्म ३ हजार ६१० विगाहा क्षेत्रफलमा सिचाईको व्यवस्था गरेको कार्यालयका संयोजक देव कुमार स्याङ्वोले जानकारी दिनुभयो । चितवनको ६ वटा पालिका र मकवानपुरका ३ पालिकामा अहिले कार्यक्रम लागु भईरहेको छ । यस क्रममा चितवनमा ३६० स्थानमा स्यालो ट्युवेल र ५२ वटा डिप ट्युवेल स्थापना गरी सञ्चालनमा ल्याईएको उहाँले वताउनुभयो । मकवानपुरमा १० वटा डिप ट्यूवेल सञ्चालनमा ल्याईएको छ ।
यस आयोजना १० हजार ५ सय हेक्टर क्षेत्रफल सिचाई गर्ने योजनाका साथ स्थापना भएको हो । तीन वर्षमा गरेको प्रगति र वजेटको अबस्था हेरेर कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । अहिले सम्म रु ६० करोड बराबरको काम भएको उहाँले जानकारी दिनुभयो । अहिले आयोजनाले बाह्र महिनानै सिचाईको व्यवस्था हुने गरि सुख्खा क्षेत्रहरुमा काम गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सिचाईको अभावका कारण खेती गर्नबाट बञ्चीत कृषकहरुलाई लाभ हुने गरी काम गरिरहेका छौ ।” आयोजनाले बिशेष गरी भरतपुर महानगरपालिकाका क्षेत्रमा काम गरेको छ । यस आर्थिक वर्षबाट आयोजनाले बर्दघाट–सुस्ता पूर्ब नवपलपरासी समेत समेट्ने गरी काम गर्न लागेको छ । वि. सं. २०८१–०८२ सम्मका लागि यस आयोजनामा रु ४ अर्ब ६४ करोड वजेट स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस !