चितवनःनारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएको छ । सो सडक खण्डमा रहेका १९ वटा पुल मध्ये हाल १५ वटा पुल निर्माणको क्रममा रहेका छन् ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र बालुवा पुल यसै महिनाबाट सञ्चालनमा आउने गरि काम भईरहेको छ । सेतीदोभानको पुलमा रंग लगाउन र बाह्य भागमा रेलिङ् राख्न बाँकी रहेको छ । डुम्रे र बालुवा पुलको सबै भागमा रेलिङ्, कालोपत्रे र रंग लगाउन बाँकी रहेको छ । कार्कीले भन्नुभयो “सबै काम सकेर जेठ मसान्त भित्रमा तीनवटै पुल सञ्चालन गर्ने योजना रहेको छ ।”
अन्य चारवटा पुललाई असार मसान्त सम्म सम्पन्न गर्ने गरि काम भईरहेको छ । पुल बनाउने ठाउँको पहाड बिष्फोट गर्नुपर्ने भएकाले तुईन खोलाको पुलको काम सुरु भएको छैन । मुआव्जा बितरण गरेर खहरे खोलाको पुलको काम सुरु भएको छ । कार्कीका अनुसार तुइन खोलाको पुल बाहेक अन्य बाँकी रहेका पुल कात्तीक मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । तुइन खोलाको पुल निर्माण गर्ने ठाउँको ढिस्को बिष्फोटको प्रकृयामा रहेको छ । यो पुलको भने टुङ्गो लाग्न सकेको छैन । कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० सालको पुस मसान्त सम्ममा सकिदै छ । बि. सं. २०७६ को चैत्रमा रु १ अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुईवटा प्याकेज बनाएर ठेक्का लगाईएकोमा दुबै प्याकेज अनक कन्ट्रक्सनले पाएको थियो ।
नक्साङ्कन सहित पुल निर्माणका लागि ठेक्का लगाईएको हो । निर्धारीत समयमा काम नसकिए पछि एक वर्ष समय थप गरिएको थियो । बिश्वबैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुढ्ने ठाउँ ७ दशमलब ५ मिटर फराकीलो रहेको छ । दायाँ बायाँ फुटपाथ सहित गरेर ९ मिटर देखि ११ मिटर पुल फराकीलो रहेको छ । केही पुलहरु भौगोलीक कारणले ९ मिटर मात्र फराकीलो वनाईएको छ भने धेरै पुलहरु ११ मिटर रहेका छन् । पुल निर्माण गरिने ठाउँहरुमा २६ वटा टहराहरु रहेका छन् । ती टहराहरुलाई मुआव्जा दिएर व्यवस्थापन गर्ने काम भै रहेको छ । सबै घरटहरा व्यवस्थापन गर्दा रु ९७ लाख भूक्तानी गर्नु पर्ने हुन्छ । हाल सम्म १६ वटा घर टहराको मुआव्जा दिएर हटाई सकीएको छ । सो सडक खण्डका ४ वटा पुल यस अघिनै निर्माण गरी सञ्चालनमा आएका छन् । सडक खण्ड बिस्तार गरे संगै पुराना पुल भएका ठाउँमा नयाँ पुल निर्माण सुरु गरिएको हो । यसै सडक हुँदै दैनिक दश हजार हाराहारी सवारी आवागमन हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस !