
काठमाडौं, जेठ १६- नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आज पनि बयान जारी छ। मंगलबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जनाको बयान जारी रहेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। सोमबार सार्वजनिक बिदा भएकाले बयान भएको थिएन।
इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भइरहेको सूचना अधिकारी दाहालले बताए।
राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ थिए। केसी पूर्वगृहमन्त्री बालकृष्ण खाणका पिए थिए।
प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। उनीहरूको यो साताभर बयान हुने सम्भावना छ।
बयान सकेपछि मात्रै थुनछेक बयान हुनेछ। सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा संगठित अपराध, ठगी, राज्यविरूद्धको कसुर, लिखत किर्ते र एकीकृत कसुरमा गत बिहीबार मुद्दा दर्ता गरेको थियो।
टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सानु भण्डारी, पूर्वसभासद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्दकुमार चौधरीको बयान बाँकी हुनेछ।
प्रहरीले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। जसमध्ये १३ जना फरार छन्।