चितवनः गणतन्त्र प्राप्तीपछि आम नागरिकले गरेको अपेक्षा अनुसार काम अझै हुन नसकेको शहीद परिवारले गुनासो गरेका छन् । आफ्ना परिवारका सदस्यले परिवर्तनका लागि गरेको त्यागको प्राप्त आम नेपालीले पाउनु पर्ने उनीहरुको भनाई छ । परिवारले जस्तोसुकै पीडा भोग्नु परेको भएपनि देशको परिवर्तन मूल उद्देश्य हुनुपर्नेमा उनीहरुको जोड छ ।

द्वन्द्वकालमा श्रीमान् गुमाउनु भएकी भरतपुर महानगरपालिका वडा नं. २० की संगीता भट्टराई आफ्ना पतिले निजी स्वार्थका लागि नभएर गणतन्त्र प्राप्तीका लागि बलिदानी दिएको बताउनुभयो । गणतन्त्र जुन उद्देश्यका साथ स्थापना भएको छ त्यो अनुसार कार्यान्वयन गर्ने पाटोमा अघि नबढेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “देशका बुद्धिजीवि, कर्मचारीहरुको सोचाई अझै पुग्न सकेको छैन । परम्परागत सोचाईका कारण गणतन्त्र कार्यान्वयनमा समस्या छ ।”

बलिदान दिने परिवारका तर्फबाट अपेक्षा र स्वार्थ केही नभएको भन्दै उहाँले भन्नुभयो “जुन उद्देश्यका साथ गणतन्त्र स्थापना भयो । सामान्य जनताको छोरो पनि देशको शासन गर्ने ठाउँमा पुग्यो ।” आफ्नो भावना, पीडा सबै व्यक्त गरेर गणतन्त्र स्थापना गरेको भन्दै शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएकी भट्टराईले भन्नुभयो “कार्यान्वयन गर्ने निकायहरुले सही ढ्ंगले कार्यान्वयन नगर्दा अपेक्षा गरे अनुसारको कार्यान्वयन हुन सकेन ।”

पूर्वी चितवनको वीरेन्द्रनगरकी अरुणा कँडेलले बि.सं २०४६ सालको आन्दोलनमा आफ्नो बुबा गुमाउनु भएको थियो । जुन अपेक्षा अनुसार परिवर्तनका आन्दोलनमा सहभागिता जनाउनु भयो त्यो अहिले नभएको उहाँको गुनासो छ । उहाँले प्रश्न गर्नुभयो “देशमा नै समस्या भईरहेको समयमा अहिले के अपेक्षा पूरा हुने ?” जनताले परिवर्तनको महसुश गर्न नसकेको भन्दै उहाँले अत्यावश्यक वस्तुको माग समेत पूरा गर्न कठिन भएको समयमा गणतन्त्र कार्यान्वयन झन फितलो बन्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो “कार्यान्वयनको पक्ष बलियो हुन जरुरी रहेको छ । जनताले सहज रुपमा सेवा पाउन सके त्यो कार्यान्वयनमा आउने थियो ।”

सशस्त्र द्वन्द्वमा छोरा गुमाउनु भएका माडीका दण्डपाणी पौडेलले गणतन्त्र राजनैतिक परिवर्तन भए पनि आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो । जनताले आज भन्दा भोली झन समस्या झेली रहेको बताउँदै उहाँले भन्नुभयो “अहिले गणतन्त्र कार्यान्वयनका चरणमा राज्यले दायित्व लिएर अघि वढ्नु पर्छ ।” समय अनुकुल परिवर्तनलाई महशुश हुने गरी काम गर्न नसकेको उहाँले बताउनुभयो ।

माडीकै नरमाया सुनारनीले बाँदरमुढे घटनामा श्रीमान् गुमाउनु भएको छ । उहाँले भन्नुभयो “राज्यले परिवर्तनको अनुभूति दिन सकेन ।” पीडितले न्याय पाउन नसकेको भन्दै उहाँले भन्नुभयो “पीडितले न्याय र नागरिकले गणतन्त्रको अनुभूति पाउनुपर्छ ।”

आम नागरिकले अनुभूति पाउने गरी काम हुनुपर्नेमा शहीद परिवारको जोड छ । आफ्ना आफन्त गुमाउँदै गर्दाको भन्दा पनि देशमा सोचे जस्तो परिवर्तन नभएका उनीहरुको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस !