
चितवनः नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र भरतपुरले बिगत लामो समय देखि बक्यौता रकम नतिरेका २७० ग्राहकलाई कालो सूचिमा राखेको छ । बितरण केन्द्रले कालो सूचिमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको हो ।
कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयहरुबाट पाउने सेवा समेत वञ्चीत हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो । कार्यालयले कालो सूचिमा रहेका ग्राहकहरुबाट रु ७४ लाख ९२ हजार ८८१ बक्यौता रकम उठाउन बाँकी रहेको छ । ती ग्राहकाले असार मसान्त सम्म बक्यौता रकम बुझाए जरिवानामा बितरण केन्द्रले १० प्रतिशत छुट दिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अबसर हो । सबैले प्रयोग गरौ ।”
यस वितरण केन्द्र अन्तर्गत रु १ लाख भन्दा बढि बक्यौता महशुल भएका १२ जना ग्राहक रहेका छन् । बक्यौता रकम नतिर्ने अन्य ग्राहकहरुलाई समेत कालो सूचिमा राख्ने प्रकृया सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस बितरण केन्द्रमा हाल ६५ हजार ग्राहक रहेका छन् ।