
चितवनः चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिएका छन् । बि.सं. २०४४ सालमा प्रजनन् केन्द्र स्थापना भए यता ती हात्ती जन्मिएका हुन् । बि. सं. २००६ सालदेखिका हात्तीहरु अहिले खोरसोरमा रहेका छन् ।
खोरसोरमा रहेका ५५ वटा हात्ती मध्ये पाँच वटा बिदेशबाट ल्याईएका हुन् भने अन्य नेपालमानै जन्मिएका हात्ती रहेका हुन् । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भारतबाट ल्याईएका ४ वटा र थाइल्याण्डबाट ल्याईएको एउटा हात्ती अहिले खोरसोरमा रहेका छन् । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुईवटा, सर्लाहीबाट चार वटा र कोशीटपुबाट ३ वटा हात्ती ल्याईएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जमा बि. सं. २०४४ सालमा हात्ती प्रजनन् केन्द्र खोरसोर स्थापना भएको हो । त्यसभन्दा अघि देखिका हात्तीहरु समेत अहिले खोरसोरमा रहेको उहाँले बताउनुभयो । निकुञ्जको खोरसोरमा रहेका हात्ती मध्ये अहिले ४ वटा बृद्धावस्थाका रहेका छन् भने अन्य एक वर्षदेखि माथिका रहेका छन् । तत्कालिन समयमा राज परिवार शिकार खेल्न आउँदा प्रयोग गरिएका हात्तीहरु समेत निकुञ्जमा रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “खोरसोर स्थापना हुनु अघि राजपरिवार शिकार खेल्न आउँदा प्रयोग गरिने हात्तीहरु पनि छन् ।” यहाँ रहेका हात्ती मध्ये ३२ वटा भाले र २३ वटा पोथी हुन् । निकुञ्ज सुरक्षार्थ हात्तीको प्रयोग गर्ने गरिन्छ । जीप जान नसक्ने ठाउँमा समेत हात्तीमा चढेर गस्ती गर्ने गरिन्छ ।