चितवनः आँफुलाई बिशेष प्रहरी भन्दै परिचय पत्र देखाउदैं हिड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ का २२ वर्षिय खुम वहादुर थापा, राप्ती नगरपालिकावडा नम्बर ८ का १९ वर्षिय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका वडा नम्बर ५ का २३ वर्षिय सञ्जीव कुमार मिश्र र खैरहनी नगरपालिका वडा नम्बर १३ का २४ वर्षिय सुजन सिलवाल रहेका छन् ।
उनीहरुला खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नीजहरुले आँफु बिशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा युवा युवतीहरुसंग कुरा गर्ने गरेको र व्यवसायीहरुलाइ समेत धम्काउने गरेको पाईएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ मालपोत चोकको प्रिन्टीङ् प्रेसमा कार्यरत थापाले नक्कली बिशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको हो । उनीहरुले केन्द्रीय अनुसन्धान व्यूरोको परिचय पत्र बनाएर हिड्ने गरेको पाईएको कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई मुलुकी अपराध संहिताको लिखद सम्बन्धि कसुरमा म्याद थप गरिएको हो । यस मुद्धामा ७ वर्ष सम्म कैद र रु ७० हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस !