चितवनः नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरु समस्या नल्याउने चिकित्सकहरुले बताएका छन् । उच्च रक्तचाप आफैमा समस्या नभएर यसले अरु अंगहरुलाई असर गर्ने भन्दै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका हुन् ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.श्यामराज रेग्मीले समय समयमा शारीरिक परीक्षण र नियमित औषधि सेवन गरेमा उच्च रक्तचापले समस्या नल्याउने बताउनु भयो । उहाँले उच्च रक्तचाप भएकाहरुले मुख्य गरी मुटु, मृर्गाैला, मधुमेह, कोलेस्ट्रोल र थाईराईडको अवस्था बारेमा समय समयमा परीक्षण गरेर हेर्नुपर्ने बताउनुभयो ।

उच्च रक्तचाप हुने खास कारण कसैलाई थाहा नहुने जानकारी दिंदै उहाँले भन्नुभयो “उच्च रक्तचाप हुने धेरै कारणहरु हुन्छन् । ९५ प्रतिशत मानिसमा उच्च रक्तचापको कारण थाहा हुँदैन ।” पाँच प्रतिशतमा बाहिरी कारणहरु हुने भन्दै उहाँले मृर्गाैला, थाईराईडको रोग र इण्डोक्राईम सम्बन्धी रोगहरु (हर्माेनको बृद्धि) का कारण उच्च रक्तचाप हुन सक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बाथ रोगमा उपयोग हुने स्टेरोईड भन्ने औषधि धेरै समयसम्म प्रयोग गरेपछि उच्च रक्तचाप हुन सक्छ ।”

हाम्रो दैनिक जीवनशैलीका र मोटोपनाका कारणले पनि उच्च रक्तचाप हुन सक्छ । यी सबै बाहेक केही नभएकाहरुलाई पनि उच्च रक्तचाप हुन सक्ने उहाँ बताउनुहुन्छ । बंशजको आधारमा पनि उच्च रक्तचाप हुन सक्ने डा. रेग्मीको भनाई छ । उहाँले भन्नुभयो “उच्च रक्तचाप हुनु आफैमा ठूलो कुरा होइन, अर्थात् रोग लाग्नु ठूलो कुरा होइन, रोग लागिसकेपछि उपचार र रोकथाम ठूलो कुरा हो ।”

रक्तचाप भनेको रगतका नली (रक्तनाली) मा चाप पर्ने हो । रक्तनली शरीरका सबै भागमा पुगेका हुन्छन् । त्यही भएर रक्तचापले शरीरका सबै भागमा असर गर्दछ । उहाँले थप्नुभयो “मृर्गाैला फेलिएर गराउन सक्छ, दिमागमा स्टक गरेर प्यारालाईसिस गराउन सक्छ, हातखुट्टाहरुका नसा बन्द भएर नसै काट्नु पर्ने समस्या आउन सक्छ ।” भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा.मणिप्रसाद गौतमले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भनिने बताउँदै उहाँले विना कुनै लक्षण पनि यसले शरीरमा गम्भीर रोगहरू निम्त्याउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “विश्वमै उच्च रक्तचापको अवस्था बढी रहेको छ । पहिला १० प्रतिशत २० प्रतिशत उच्च रक्तचापका बिरामीहरु थिए । अहिले बढ्दै गएर १०० मा ३६ प्रतिशतसम्ममा उच्च रक्तचाप देखिन थालेको छ ।”

उहाँले भन्नुभयो “मुटुले रगत फ्याक्ने क्रममा रक्त नलीहरुको भित्तामा दवाव पर्छ । त्यो दवावलाई खासमा रक्तचाप भनिन्छ । नलीमा बग्ने रगत उत्तिकै छ तर नली विभिन्न कारणले साँघुरो हुन पुग्यो भने रगतले नलीलाई दिने चाप बढ्छ ।” उहाँले थप्नुभयो “यसरी रक्तनलीमा बढेको चाप नै उच्च रक्तचाप (हाई बिपी) हो । जसका कारण मुटु, मिर्गौला, मस्तिष्क र आँखामा जटिलता जस्ता विभिन्न स्वास्थ्य समस्याले अकालमै जीवन क्षति हुन सक्छ ।”

उच्च रक्तचाप भएमा टाउको दुख्ने, चक्कर लाग्ने, थकान महसुस हुने, टाउको भारी हुने, नाकबाट रगत बग्ने, अनिद्रा, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, श्वास लिनमा कठिनाइ हुने, अचानक डर लाग्ने, आँखा धमिलो हुनेजस्ता लक्षण देखा पर्ने उहाँको भनाई छ । वयस्क व्यक्ति हरेकले कम्तीमा पनि एक वर्षमा एक पटक आफ्नो रक्तचाप अनिवार्य जाँच गराउन डा. गौतमले सुझाव दिनुभयो । यसो गरेर भविष्यको सम्भावित दुर्घटनाबाट बच्न सकिने बताउँदै उहाँले उच्च रक्तचाप भएको व्यक्ति चिकित्सकसँग नियमित परामर्शमा रहनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यदि कसैको घरमा उच्च रक्तचापका बिरामी छन् भने उसको घरपरिवार झन बढी सजक हुनु पर्छ । परिवारको सबैले समय समयमा उच्च रक्तचाप जचाउनु पर्छ ।”

प्रतिक्रिया दिनुहोस !