
चितवनः सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाज चढेर काठमाण्डौंका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाण्डौंका भोज र घरहरुमा पु¥याउँदै आउनु भएका छ कमाण्डरले ।
सौराहामा कमाण्डका नामबाट परिचित नेपाली सेनाका निवृत्त नायक हरेराम महतो अहिले नियमित हाँसका परिकार बनाउनुहुन्छ । उहाँको रेष्टुरेन्टमा पुगेर खानेहरु त हुन्छन् नै देशका विभिन्न भागबाट माग गर्नेहरुको पनि कमी हुँदैन । उहाँले पूर्वीको इटहरीदेखि काठमाण्डौंसम्म हाँसका परिकार तयार पारेर पठाउँदै आउनु भएको छ ।
पछिल्लो समय बनेका परिकार जहाजबाट उहाँले पठाउने गर्नुहुन्छ । पैसा अनलाईन सेवामार्फत् उहाँको खातामा आउँछ । साँझपख उहाँका पाँच वटै कटेज भरिएर आँगनमा पाहुनाहरु हाँसका परिकारमा रमाउने गर्दछन् । कोभिडपछि व्यापार घटेको दुखेसो उहाँको छ । ५८ वर्षिय कमाण्डरलाई अबका दिन विगत जस्तो काम गर्ने जाँगर भने छैन । विगत सम्झँदै उहाँले भन्नुभयो “एकै दिन १२ वटासम्म हाँसका परिकार बनाएर काठमाण्डौं पठाएँ । रेष्टुरेन्टमा २४ वटासम्म हाँस बनाएर पाहुनालाई खुवाएको छु ।” जिउँदो हाँसलाई काटेर सालको दाउराको आगोमा पोलेर हड्डी छुट्याएर आफैले सिलौटीमा पिनेको मसलामा पकाएको हाँसको स्वाद धेरैले मन पराएको उहाँ बताउनुहुन्छ ।
छुट्याएको हड्डीलाई मिठो हुने गरी उहाँले सुप बनाउनुहुन्छ । बाहिर पठाउँदा मसला मोलेको तयारी मासु र हड्डी छुट्टाछुट्टै उहाँ पठाउने गर्नुहुन्छ । उहाँले भन्नुभयो “सालको बाहेकको दाउरा प्रयोग गर्दिन, बजारको मसला राख्दिन ।” अदुवा र लसुनको पेष्टले उहाँले बनाएको हाँसको छोईलाको स्वाद धेरैलाई मन पर्ने गर्दछ । हाँससँगै उहाँले स्थानीय खोलामा पाईने माछा, स्थानीय जातको कुखुराका परिकार पनि खुवाउनुहुन्छ । आफ्नो नेतृत्वमा श्रीमती, तीन छोरा, दुई बुहारी सँगसँगै काम गर्छन् । भर्खरै मात्र छोरीको विवाह भएकाले काम गर्न छाडेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सबै परिवार मिलेर काम गर्छाै ।”
कमाण्डरको आफ्नै जीवनकथा छ । नेपाली सेनामा १६ वर्ष सेवापछि बि.सं. २०५४ सालमा निवृत्त भएसँगै उहाँको पेशा रेष्टुरेन्ट बन्यो । भरतपुरको गीतानगरमा जन्मिनु भएका उहाँ निवृत्त जीवनसँगै सौराहामा रेष्टुरेन्ट शुरु गर्नुभयो । चरम द्वन्द्वको समयमा हतियार खेलाउन जानेका कमाण्डरलाई माओवादीले सँगै लैजाने डरले भागेर बुटवल र वीरगन्जमा गार्डमा लुकेर काम गर्नुभयो । द्वन्द्व मत्थर भएपछि बि.सं. २०६२ सालमा पुनः सौराहा फर्किएर उहाँले थप संघर्ष गर्नुभयो । जेनतेन श्रीमतीले धानेको रेष्टुरेन्टलाई राम्रो बनाएर सौराहाको हात्तीचोक वरिपरि चार ठाउँमा सर्र्दै रेष्टुरेन्ट चलाउनुभयो ।
त्यहाँ बचाएको रकमले हात्तीचोक भित्रपट्टी ३८ धुर जमिन किन्नुभयो । त्यही जमिनमा अहिले उहाँको घर सहितको कटेज छ । यही कटेजबाट बि.सं. २०७३ सालदेखि उहाँको रेष्टुरेन्ट सञ्चालन हुँदै आएको छ । जहाँ कहिले रु.४५ हजारसम्मको व्यापार हुन्छ भने कहिले बोहनी पनि हुँदैन । थारु जातिको परम्परागत स्वादका पारखीका लागि कमाण्डरको रेष्टुरेन्ट रोजाई बन्ने गरेको छ । चितवन र बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकहरु समेत त्यहाँ हाँसको परिकारमा रमाउन पुग्ने गर्दछन् । (तस्वीर उपलब्ध छ ।)