
चितवनः जिल्लामा चैते धान खेती गरेका कृषकहरुलाई प्रोत्साहन स्वरुप प्रदान गर्न ल्याईएको कार्यक्रममा बजेट भन्दा सात गुणा बढिको निवेदन परेको छ । कृषि ज्ञान केन्द्र चितवनले चैत २७ गते १५ दिने सूचना जारी गरी यस कार्यक्रममा सहभागी हुनका लागि कृषकहरुलाई आव्हान गरेको थियो । संघिय सरकारको यस कार्यक्रममा चैते धान खेती गर्ने किसानहरु लाभान्वित हुने छन् ।
सो आव्हान अनुसार जिल्लाका पाँच पालिकाका किसाहरुले ४ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाएको भन्दै प्रोत्साहन कार्यक्रमका लागि निवेदन बुझाएका हुन । कार्यालयका निमित्त प्रमुख मिन वहादुर पुनका अनुसार कार्यालयमा रहेको वजेटले ६ सय हेक्टर क्षेत्रफललाई मात्रै पुग्ने भए पनि अहिले परेका निवेदनका आधारमा चैते धान खेती गर्ने कृषक संख्या वढेको अनुमान गरिएको छ । एक हेक्टरमा ३० कठ्ठा हुने र एक कठ्ठा बराबर रु ४ सयका दरले प्रोत्साहन रकम दिन कार्यबिधिमा भए पनि माग वढेपछि अहिले स्थलगत अनुगमन सुरु गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “जिल्लामा यो पहिलो कार्यक्रम हो । हामीले अहिले स्थलगत अनुगमनको कार्य गरिरहेका छौ ।” मकवानपुर र चितवनमा यस कार्यक्रमका लागि रु ७३ लाख ५० हजार वजेट भए पनि मकवानपुर जिल्ला र चितवनको कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाबाट निवेदन नआएको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो “अहिले आएका निवेदन सबैलाई कार्यक्रममा समेट्ने हो भने प्रति कठ्ठा रु ६० का दरले पर्न जान्छ ।”निवेदन संख्या बढे संगै किसानहरुलाई बर्गिकरण गरेर प्रोत्साहन रकम दिने तयारीमा कार्यालय लागेको उहाँले जानकारी दिनुभयो । साना किसानलाई लक्षित गर्दै रकम बाँडपाँड गर्ने योजनामा कार्यालय रहेको भन्दै उहाँले निर्णय गर्न बाँकी रहेको बताउनुभयो ।
परेका निवेदन मध्ये सबै भन्दा धेरै खैरहनी नगरपालिकाका किसानहरुको रहेको छ । यस्तै राप्ती, रत्ननगर र माडी नगरपालिकाका किसानहरुले आवेदन दिएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाको पश्चिमी भूभागका कृषकहरु समेटीएको कार्यालयले जनाएको छ ।