चितवनः नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३० औं स्मृति दिवसका अवसरमा आज दासढुंगामा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । नेकपा (एमाले) चितवनले नेताद्वयको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश ईञ्चार्ज काशिनाथ अधिकारीले मदन भण्डारीले प्रतिपादन गरेको “जनताको बहुदलीय जनवाद”लाई एमालेले प्रमुख कार्यदिसा बनाएर अघि बढेको चर्चा गर्दै यसबाट विचलित नहुने बताउनुभयो । हाम्रो अभियानलाई अघि बढाउँदै गर्दा हाम्रा व्यवहार, आचरण, सक्रियतामा, पहलकदमीमा, जनताका सेवामा केही कमिहरु पनि रहेका भन्दै उहाँले भन्नुभयो “त्यो कुरालाई महसुस गर्दै यिनलाई सच्याउँदै अघि बढ्ने छौं । हामी मदन आश्रितले भने बमोजिमका परिवर्तनकारी, सच्चा कार्यकर्ता भएर समाजको अधुरो क्रान्तिलाई पूरा गरी छाड्नेछौं ।”
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले पार्टीमा चौतर्फी आक्रमण भएको भन्दै मदन आश्रितको प्रेरणाले आक्रमणलाई परास्त गर्ने बताउनुभयो । सो अवसरमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेता कार्यकर्ताहरुले मदन आश्रितको प्रतिमामा फूलमाला चढाएर श्रद्धासुमन व्यक्त गर्नुभएको थियो ।
वि. सं. २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । जीप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जीप चालक अमर लामा भने जीवित थिए । लामाको वि. सं. २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !