नारायणगढ । लामो समयदेखि खडेरी परेपछि बसेनीवासीले सोमबार भगवान्सँग पानी मागेका छन् । भरतपुर–११ स्थित बसेनी बजार टोल विकास संस्था, शुभारम्भ बसेनी आमा समूह र ज्येष्ठ नागरिक समाज भरतपुर–११ ले संयुक्तरुपमा जलधारा गरेर पानी मागेका हुन् ।

बसेनी चौतारीमा भेला भएका स्थानीय ‘हरहर महादेव पानी देऊ, देऊ’ भन्दै नारायणी नदीकिनार पुगेका थिए । जोरकुशुम पार्कस्थित नारायणी नदीकिनार पुगेका उनीहरुले भगवान् शिवको रूद्री गर्नुका साथै गणेश, बरूण, यम, कुबेरलगायतका देवीदेवताको पूजापाठ गरी पानी मागेका थिए । पण्डित नित्यानन्द घिमिरेका अनुसार पवित्र काली मिसिएकोले पनि नारायणी नदीको पवित्रतालाई हेरेर नारायणी पुगेर जलधारा गरिएको हो ।

बसेनी टोल विकास संस्थाका अध्यक्ष गणेशचन्द्र देवकोटाले पुरानो संस्कारलाई पुस्तान्तरण गराउन पनि जलधाराले मह¤वपूर्ण अर्थ राख्ने बताए । ‘रूद्री गरेर पूजापाठ गर्दा भगवान् पनि खुसी हुने, संस्कार पनि जोगिने भएपछि पहिलोपटक भगवान्सँग पानी माग्ने प्रयास गरेका हौँ’, उहिले पहाडमा छँदा पनि खडेरीको बेला पानी मागेको स्मरण गर्दै उनले भने । स्थानीयले नारायणी नदीकिनारमा नुहाइधुवाई गरेर शुद्ध गएर पूजा गरेपछि एकापसमा पानी छ्यापाछ्याप गरेर जलवर्षा गरेका थिए ।

धार्मिक संस्कार र आस्थाअनुसार सुक्खा खडेरी भएको समयमा यसरी पानी माग्दा पानी पर्ने जनविश्वास छ । ज्येष्ठ कृष्णपक्षको सफल एकादशीका दिन शिवको रूद्री जुरेको ज्येष्ठ नागरिक समाज भरतपुर–११ का सचिव देवीप्रसाद ढकालले बताए । ‘एकादशीको दिन यसै पनि राम्रो’, उनले भने, ‘शिवको रूद्री पनि जुरेको हुँदा जलवर्षा गरेर पानी माग्ने कार्यक्रम गर्ने निधो गरेका हौँ ।’

बढी सुक्खा हुँदा खेतीपाती सबै सुकेर गएपछि पानी माग्न टोलवासी तयार भएको समाजका अध्यक्ष खेमराज पोख्रेलले बताए । ‘हामी एउटा टोलवासीले पानी माग्दा पानी आयो भने फाइदा त सबैलाई हुने भो नि त’, उनले भने, ‘त्यसैले यो पुण्यको काम किन नगर्ने भनेर सबैजना सकारात्मक भएका हौँ ।’

जल तथा मौसम विज्ञान विभागले पनि नेपालमा यसवर्षको वर्षायाममा औसतमा कम वर्षा हुने प्रक्षेपण गरेको छ । पण्डित घिमिरेले पनि जेठ र असारमा पानी कम पर्ने योग रहेको बताए ।

प्रतिक्रिया दिनुहोस !