चितवनः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले जनताले दुःख नपाउने गरी न्यायिक समितिले न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको न्यायिक समितिद्धारा निरुपण हुने न्यायिक कार्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जनताको बिचमा रहेर जनताको हित सोचेर न्याय गर्न न्यायिक समितिलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “बास्तबिक न्याय नागरिकले पाउन भन्ने अवधारणाका साथ न्यायिक समिति गठन भएको हो । त्यही अबधारणामा रहेर काम गर्नुस् ।” जनताको बिचमा रहेर काम गर्दा आउने समस्या समाधानका लागि कानुन मन्त्रालयले काम गरिरहेको बताउँदै उहाँले न्यायको नाममा अपराधी छुट्न नहुने बताउनुभयो । उहाँले थप्नुभयो “कही कतै मेलमिलापको नाममा जगन्य अपराध गरेकाहरु समेत छुटेको भन्ने सुनिएको छ । यस्तो नहोस् ।” कानुनको आँखाबाट अपराधी छुट्न नहुने उहाँको भनाई थियो ।
महानगरपालिकाको न्यायीक समितिले गरेका कामहरु सह्रानिय भए पनि अझै यसलाई कार्यान्वयनको पाटोमा बलियो बनाएर लैजानु पर्ने उहाँको भनाई थियो । जनताको घरमा जनताका लागि न्याय दिनुपर्ने भएकाले कानुनी समस्याहरु आपसी सल्लाहामा समाधान गर्नु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यायका क्षेत्रमा महानगरले गरेको कामका प्रसंशा योग्य रहेको बताउनुभयो । न्याय दिनका लागि गठिन न्यायिक समितिले जनताको पक्षमा काम गर्न सक्नु पर्ने उहाँको भनाई थियो । सो अबसरमा चितवन जिल्ला अदालतका न्यायधिश रितेन्द्र थापा, जिल्ला बार एशोसियसन चितवन अदालतका अध्यक्ष खगराज कंडेल, भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष दिपक दवाडी, महानगरका पर्यटन बिज्ञ डा. बिश्वराज सुवेदी लगाएतले बोल्नु भएको थियो ।
महानगरपालिका उपप्रमुख एबं न्यायिक समितिका संयोजक चित्रसेन अधिकारीले चालु आर्थिक वर्षमा भरतपुर महानगरपालिकाको न्यायीक समितिमा ठाडो निवेदन ४१ वटा उजुरी दर्ता भएको जानकारी दिनुभयो । जस मध्ये १३ वटा उजुरी मेलमलिाप भएको र अन्य मेलमिलापका लागि छलफलमा रहेको उहाँको भनाई छ । यस्तै फिराद पत्र प्रकृयाबाट १३ वटा निवेदन दर्ता भएका थिए । जस मध्ये ६ वटाको निर्णय भईसकेको र अन्य छलफलमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !